एकसाथ १० हजार बालबालिकालाई खोप लगाइँदै सुनसरीको बर्जु गाउँपालिकामा दादुरा फैलिएको छ । दुई साताको अवधिमा बर्जुमा २९ जना दादुरा पोजेटिभ पाइएका हुन् । बर्जुमा पहिलो पटक २ नम्बर वडामा ७ महिने शिशुमा दादुरा पुष्टि भएको थियो । हाल उक्त गाउँपालिकाको ६ मध्ये ४ वटा वडामा दादुरा संक्रमित बिरामी फेला परेका छन् ।

जसमध्ये केही वयश्क व्यक्ति समेत रहेका छन् । योसँगै गाउँपालिकाको एकै स्थानमा एकसाथ ५ जना बढी दादुरा संक्रमित भेटिएसँगै स्वास्थ्य कार्यालय सुनसरीले आपतकालिन कार्य योजना अघि बढाएको छ । प्रदेश १ सरकार, स्वास्थ्य मन्त्रालय, विश्व स्वास्थ्य संगठन, युनिसेफ तथा स्थानीय निकायसँगको समन्वयमा दादुरा फैलन नदिन स्वास्थ्य कार्यालय सुनसरीले एकसाथ १० हजार बालबालिकालाई दादुरा बिरुद्धको खोप लगाउने तयारी थालेको स्वास्थ्य कार्यालय सुनसरीका प्रमुख सागर प्रसाईंले बताउनु भयो । उहाँले दादुरा अति संक्रमित रोग भएकाले एउटै क्षेत्रमा ५ जना पुष्टि भए यसलाई महामारीको रुपमा लिइने बताउनु भयो । उहाँले यसलाई रोक्नका लागि ६ महिनादेखि १५ वर्ष उमेर समूहका व्यक्तिहरुलाई अघि सारेको बताउनु भयो ।

२९ जना पोजेटिभ केस फेला परिसकेको बर्जुमा थप केही शंकास्पद केस परीक्षणको क्रममा रहेकाले संख्या थप बढ्नसक्ने स्वास्थ्य कार्यालय सुनसरीको अनुमान छ । दादुरा तिब्र संक्रमण फैलने र जटिल प्रकृतिको रोग भएकाले फैलन नदिन रोकथामका सबै उपाय अविलम्व अवलम्वन गर्न लागिएको स्वास्थ्य कार्यालय सुनसरीले जनाएको छ । कार्यालयका अनुसार बर्जुका सबै ६ वटै वडाहरुमा फागुनको १६ गतेबाट एकसाथ दादुरा बिरुद्धको खोप अभियान सञ्चालनमा ल्याइनेछ । अभियानमा ६ महिना देखि १५ वर्ष सम्मका बालबालिकाहरुलाई दादुरा बिरुद्धको खोप लगाउने गरी तयारी थालिएको कार्यालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here