काठमाडौं २५ माघ  ।

नेपाली काँग्रेसका नेता एवम् सांसद प्रदीप पौडेलले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको अहंकार कायमै रहे संघीय संसद पाँच वर्ष अघिनै विघटन हुने डर आफूलाई लागेको बताउनु भएको छ ।ओलीले संसदमा गरेको पछिल्लो सम्बोधनले त्यो कुरालाई संकेत गर्ने उहाँको जिकीर थियो । बुधबार काठमाडौंमा आयोजित ‘अवको नेपाली राजनीति र लोकतान्त्रिक संस्कारको सवाल’ विषयक विचार गोष्ठीमा बोल्दै उहाँले केपी ओली प्रवृत्ति बलियो हुँदै गयो भने त्यसले मुलुकको लोकतन्त्रलाई बलियो बनाउन नसक्ने आरोपसमेत लगाउनु भयो । नेता पौडेलले ओलीले आफ्नै अहंकारका कारण आफू नेतृत्वको सरकार गुमाउनु परेको पनि बताउनु भयो । ओलीले दुई तिहाई नेतृत्वको सरकार चलाउन पाएपनि मुलुकको हितमा काम गर्न नसकेको उहाँको बुझाई थियो । नेता पौडेलले छोटो समयमै सत्तालिप्सा देखिएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीप्रति पनि असन्तुष्टि व्यक्त गर्नु भयो । मुलुकमा बैकल्पिक शक्ति भनेर उदाएको सो पार्टीले पुरानै शैली अप्नाएर मुलुकलाई अघि बढाउने योजना ल्याउन नसकेको उहाँको भनाई थियो । नेता पौडेलले आफूलाई संसद ‘चुनावी सभा’ हो कि भन्ने आभास भईरहेको टिप्पणी समेत गर्नु भयो । आफू पहिलो पटक संघीय संसदमा पुगेको उल्लेख गर्दै उहाँले त्यो ठाउँ संसद हो कि चुनावी सभा छुट्टयाउन गाह्रो भईरहेको बताउनु भयो । नेता पौडेलले संसदमा झुटो बोल्नु हुँदैन भन्ने हेक्का समेत सांसदहरुले राख्न नसकेको उल्लेख गर्नु भयो । उहाँले संसदमा झूटो बोल्दा आफ्नो खण्डन हुने र त्यसबाट व्यक्तित्वमा आँच आउन कुरालाई समेत हेक्का नराखि नेताहरुले बोल्ने गरेकोमा पनि आपत्ति जनाउनु भयो ।नेता पौडेलले मुलुकको सबैभन्दा ठूलो समस्या भ्रष्टाचार भएको दावी गर्दै त्यसको अन्त्य गर्न लागिपर्ने प्रतिवद्धता समेत व्यक्त गर्नु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here