काठमाडौं २१ मंसिर ।
लुम्बिनी प्रदेशका अर्थ तथा सहकारीमन्त्री कृष्णध्वज खड्काले आफ्नो प्रदेशको राजधानी दाङको देउखुरी सार्नुको विकल्प नभएको बताउनु भएको छ । शंकर पोखरेल नेतृत्वको अघिल्लो सरकारले राजधानी सो ठाउँमा सार्ने निर्णय गरेकाले वर्तमान सरकारले त्यसलाई कार्यान्वयन गर्नुको विकल्प नरहेको उहाँको भनाई थियो । मंगलबार बुटवलमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री खड्काले मन्त्रालयको भवनहरु बन्ने काम जारी रहेकाले सबै मन्त्रालयहरु क्रमशः सो ठाउँमा सार्दै जाने पनि स्पष्ट पार्नु भयो । तत्कालीन सरकारले गरेको निर्णय वर्तमान सरकारले कार्यान्वयन गर्नुपर्ने भएकाले दाङमा प्रदेशको राजधानी सार्ने कामलाई अघि बढाइएको उहाँले बताउनु भयो । मन्त्री खड्काले भन्नु भयो, ‘सबै दलको सहमतीमा शंकर पोखरेल नेतृत्वको अघिल्लो सरकारले प्रदेशको राजधानी सार्ने निर्णय गरेको र त्यसलाई कार्यान्वयनमा लैजाने काम मात्रै वर्तमान सरकार हो । यसमा कसैले पनि आपत्ति जनाउनुपर्ने कारण छैन । मन्त्री खड्काले अन्तराष्ट्रिय शक्ति केन्द्रहरुले दलहरुलाई कमजोर बनाउने काम गरिरहेको भन्दै सचेत रहन पनि सबै राजनीतिक दलहरुलाई आग्रह गर्नु भयो । कार्यक्रममा बोल्दै नेकपा (एमाले)का प्रदेशसभा सांसद भोजप्रसाद श्रेष्ठले भने छापामारा शैलीमा मन्त्रालयहरु दाङमा सार्ने कामको सुरुवात गरिएको भन्दै आपत्ति जनाउनु भयो । उहाँले राजनीतिक दल र सरोकारवाला निकायहरुसँग छलफल समेत नगरी सेवाग्राहीलाई असर पर्ने गरी मन्त्रालयहरु दाङमा सार्ने काम गरिएको भन्दै तत्काल फिर्ता गर्न पनि प्रदेश सरकारसँग माग गर्नु भयो । लुम्बिनी प्रदेशको मख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयको फर्निचर गएराति दाङको देउखुरीमा सार्ने काम गरिएपछि रुपन्देही एमालेका सांसदहरु त्यसको विरोधमा उत्रिएका छन ।







