काठमाडौं २० मंसिर ।
नेपालमा हालसम्म पनि खेतीयोग्य जमिनमा माटो बिग्रन नदिनका लागि आवश्यक कानुनी व्यवस्था नै नभएको पाइएको छ । नवौं विश्व माटो दिवसको अवसर पारेर सोमबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै कृषि विभागमा महानिर्देशक डा. रेवतीरमण पौडेलले यस्तो खुलासा गर्नु भएको हो । उहाँले भूसंरक्षण सम्बन्धि ऐन भएपनि त्यसमा खेतीयोग्य जमिनको माटो बिग्रन नदिने खालको व्यवस्था नभएको स्पष्ट पार्नु भयो । महानिर्देशक पौडेलले खेतीयोग्य जमिनको माटोमा गुणस्तर कायम गर्न तत्काल कार्यविधि ल्याउने घोषणा समेत गर्नु भयो । नेपालमा माटोको गुणस्तर बिग्रदै गएकोमा चिन्ता भईरहेको उल्लेख गर्दै उहाँले त्यसको संरक्षण गर्नका लागि कार्यविधि ल्याउने र जनचेतनामूलक कार्यक्रमलाई जोड दिएर अघि बढन सरकार लागि परेको समेत बताउनु भयो ।विभागले यस वर्ष विद्यालय तहमा अध्ययनरत विद्यार्थीहरुलाई माटोको गुणस्तरसम्बन्धि निबन्ध प्रतियोगिता गराएर यस सम्बन्धि जनचेतना जगाउने काममा जोड दिइएको पनि कृषि विभागले जनाएको छ । विभागका महानिर्देशक पौडेलले माटोको उर्बरामा ह्रास हुन नदिनका लागि जनचेतना जगाउने काम मुख्य भएकाले सरकारले त्यसलाई आगामी दिनमा प्राथमिकताका साथ अघि बढाउने योजना तय गरेको बताउनु भयो । विज्ञहरुले नेपालको तराई क्षेत्रमा माटो बिग्रदै गएकोमा चिन्ता व्यक्त गर्दै त्यसलाई रोक्नका लागि विशेष योजना बनाएर अघि बढन सरकारलाई सुझाव दिँदै आएका छन ।








