काठमाण्डाै, माघ १४ \
राष्ट्रिय सभाका पूर्व सांसद एवं वरिष्ठ अधिवक्ता रामनारायण बिडारीले संविधानले विपक्षी दलको व्याख्या नगरेको बताउनुभएको छ । काठमाडौंमा भएको संसदीय अध्ययन तथा विकास संस्थापना अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै विपक्षी दलले सरकारको समर्थन गर्नै हुँदैन भन्ने हिसावबाट बुझ्न नहुने बताउनु भयो ।
सरकारलाई सबै दलले समर्थन गर्नुलाई राजनीतिक दलहरुले विपक्षीरहित बनाउने उद्देश्यका साथ गरिएको व्याख्या भएको र संविधानले विपक्षी नेताको व्याख्या गरेको भएपनि विपक्षी दलको व्याख्या नगरेको बताउनु भयो । उहाँले नेपाली काँग्रेस सरकारलाई विश्वासको मत दिँदैमा विपक्षी दलबाट कट्टा हुन नरहेको जिकिर गर्नुभयो । गत पुस २६ गते प्रधानमन्त्री पुष्पकमल दाहाललाई संसदका अधिकांश दलहरुले विश्वासको मत दिएका थिए । नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चाले भने प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिएको थिएन ।
नेपाली काँग्रेसले समेत प्रधानमन्त्रीलाई विश्वासको मत दिएपछि संसदमा अहिलेसम्म पनि प्रमुख प्रतिपक्ष दल को हो भन्ने प्रश्न रहेको छ । उहाँले भन्नुभयो, ‘विपक्षी दलले कहिले पनि सरकारको समर्थन गर्न हुँदैन, कुनैपनि विषयमा हुँदैन, विपक्षी दल र सरकार भनेको टसल गर्ने तत्वहरु हुन्भ न्ने प्रकारले बुझ्नु हुँदैन । त्यसो भए त बधाई दिनु पनि हुँदैन नि । शुभकामना दिनु हुँदैन ।
विश्वासको मत पनि सरकार गठन गरेको होइन, उसको सही छाप पर्दैन । उसले सही गर्नु पर्दैन । तर सरकार उसले गठन गरिदिएको भए त्यो विपक्षी हुँदैन थियो, सरकारले गठन भइसक्यो, तिमीलाई मेरो यति वर्षका लागि समर्थन छ भनेको न हो । यसलाई विपक्षीरहित बनाउने उद्देश्यका साथ राजनीतिक दलले गरेको व्याख्या हो । संविधानले विपक्षी दलको व्याख्या गरेको पनि छैन । अरु कानूनमा पनि हेरियो छैन । विपक्षी दलको व्याख्या कतै पनि छैन, नेताको व्याख्या छ । विपक्षी दल भनेको को हो ? व्याख्या छैन ।
सरकारको विश्वास गरेको भन्दैमा विपक्षी दल हुनुबाट कट्टा हुन होइन ।’ वरिष्ठ अधिवक्ता बिडारीले नेपालको मिश्रित प्रणालीको चुनावलाई पूर्ण समानुपातिक वा पूर्ण प्रत्यक्ष बनाउनुपर्ने बारेमा छलफल गर्नुपर्ने आवश्यक्ता रहेको बताउनु भयो ।








