काठमाडौं ९ माघ ।
संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किरातीले आफ्ना जहाजहरुको रिर्पोट हरेक दिन मन्त्रालयमा पेश गर्न नेपाल वायु सेवा निगमलाई निर्देशन दिनु भएको छ । कुन जहाज, कति बजे, कहाँ डिले भयो ? भन्ने सम्मको रिर्पोट आफूलाई हरेक दिन बुझाउन निगमलाई पदाधिकारीलाई मन्त्री किरातीको कडा निर्देशन थियो । उहाँले निगमको समस्या समाधान हुने गरी विजनेश प्लान तत्काल बनाएर आफू समक्ष पेश गर्न पनि निगम पदाधिकारीलाई सचेत गराउनु भयो । गुच्छा जत्रो समाधान लिएर भकुण्डोजत्रो समस्याको समाधान नहुने कुरामा हेक्का राख्न पनि निगमलाई मन्त्री किरातीको चेतावनी थियो । सोमबार निगम व्यवस्थापनले आयोजना गरेको आफूहरुको स्वागत कार्यक्रममा बोल्दै उहाँले नेपाल वायु सेवा निगमलाई गौरवको विषय बनाउने गरी कार्ययोजना बनाउन पनि ढिलाई गर्न नहुने बताउनु भयो । यदि त्यसो गर्न नसक्ने हो भने निगम पदाधिकारीहरुले तत्काल राजीनामा दिनुपर्ने पनि मन्त्री किरातीले स्पष्ट पार्नु भयो ।मन्त्री किरातीले १ महिना भित्र अनलाईन टिकट पाउने गरी आवश्यक व्यवस्था मिलाउन पनि निगमलाई निर्देश गर्नु भयो । उहाँले त्यसका लागि आवश्यक नीतिगत व्यवस्था आफूहरुले तत्काल गरिदिने पनि बताउनु भयो । मन्त्री किरातीले निगमलाई मान्छेहरुले घृणा गर्ने गरेको उल्लेख गर्दै त्यसलाई असफल बनाउने छुट कसैलाई पनि नभएको पटकपटक दोहो¥याउनु भयो । निगमलाई समय, सन्दर्भ वा आफू कसैले पनि असफल हुने छुट दिन नसक्ने उहाँको भनाई थियो । उहाँले आफूले सेतो लुगा लगाउने गरेको भन्दै कालो दाग लगाउने प्रयास नगर्न पनि सचेत गराउनु भयो । मन्त्री किरातीले निगमजस्तो मुलुकको गौरवशाली संस्था डुबेको आफूले टूलूटूलू हेरेर बस्न नसक्ने बताउनु भयो ।मन्त्री किरातीले अन्य जहाजहरु नाफामा हुने तर निगमको जहाज भने घाटामा हुने कारणको खोजी गर्नुपर्ने समेत बताउनु भयो ।







