काठमाडौं ६ पुस ।
नेपाली काँग्रेस संसदीय दलको नेताका उम्मेदवार गगनकुमार थापाले जनताको विश्वासलाई गुम्न नदिनका लागि आफूलाई मतदान गर्न आग्रह गर्नुभएको छ । बुधवार काँग्रेस संसदीय दलको कार्यालय सिंहदरबामा पार्टी संसदीय दलको नेताका लागि मतदान गर्न पुग्नुभएका महामन्त्री थापाले जनतासमक्ष गरेको पुस्तान्तरणरुपी विश्वासलाई खण्डित नगर्न दलका सदहरुसँग आग्रह गर्नुभएको । उहाँले जनताबाट निर्वाचित भएका सांसदहरुले मतदान गर्नुपूर्व जनताको विश्वासको नासोप्रति जवाफदेही र इमान्दारी देखाउन आग्रह गर्नुभयो । उहाँले नेपाली काँग्रेसले देशप्रति गर्नुपर्ने जिम्मेवारी हृदयमा राखेर शान्त चित्तले, कुनै आग्रह, पूर्वाग्रहमा नपरीकन विवकेले मत प्रयोग गर्न आग्रह गर्नुभयो । महामन्त्री थापाले वाहरुको र पार्टीका सांसदहरुको साथ रहेकाले आफूलाई संसदीय दलको नेतामा छानिने आत्मविश्वास प्रचुर रहेको बताउनु भयो ।
महामन्त्री थापाले काँग्रेस समानुपातिक सांसद आरजु राणा देउवाले प्रधानमन्त्री एवं संसदीय दलको नेताका उम्मेदवार तथा पार्टी सभापति शेरबहादुर देउवाको जित सुनिश्चित रहेको छ भन्दै हुनुहुन्छ भन्ने सञ्चारकर्मीहरुको प्रश्नमा संसदीय दलको नेतामा आफ्नो प्रतिष्पर्धी शेरबहादुर देउवा भएको बताउनु भयो । काँग्रेस संसदीय दलको नेताका लागि आज ८ बजेबाट मतदान हुने भनिएपनि करिव ४५ मिनेट ढिलो गरेर मतदान शुरु भएको छ । मतदान १० बजेसम्म जारी रहनेछ । नेपाली काँग्रेस संसदीय दलको नेताका लागि पार्टीका नवनिर्वाचित ८९ जना सांसदले मतदान गर्नुहुनेछ ।







