काठमाडौं ३ पुस ।
नेपाली काँग्रेसले आफ्नो पार्टीकै नेतृत्वमा सरकार गठनका लागि पहल गर्ने निर्णय गरेको छ । आईतवार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रिय कार्य सम्पादन समितिको बैठकले काँग्रेसकै नेतृत्वमा सरकार गठनका लागि पहल गर्ने निर्णय गरेको हो । बैठकको निर्णय बारे जानकारी दिँदै प्रवक्ता डा. प्रकाशशरण महतले सबैभन्दा ठूलो पार्टी भएकाले काँग्रेसको नेतृत्वमा सरकार बनाउनु स्वभाविक भएको बताउनु भयो । उहाँले कांग्रेस नेतृत्वमा सरकार गठनका लागि गठबन्धनमा रहेका र अन्य दलहरुसँग पनि छलफल अगाडी बढाउने निर्णय भएको बताउनु भयो । उहाँले भन्नुभयो – ‘सबैभन्दा ठुलो पार्टीको हैसियतले नेपाली काँग्रेस पार्टीले नेपालको संविधानको व्यवस्था बमोजिम सरकारको नेतृत्व गर्नु, दाबी गर्नु स्वभाविक हुन्छ । त्यस अर्थमा नेपाली काँग्रेस पार्टीको नेतृत्वमा आगामी सरकारको गठनका लागि गठबन्धनमा रहेका दलहरु लगायत अन्य दलहरुसँग प्रक्रिया प्रारम्भ गर्ने निर्णय गरेको छ । उहाँले वर्तमान सत्तारुढ गठबन्धनको सरकारलाई नै निरन्तरता दिने आफूहरुको लक्ष्य भएको स्पष्ट पार्नुभयो । बैठकले संसदीय दलको नेता चयन गर्नका लागि केन्द्रिय सहमहामन्त्री भिष्मराज आङ्दाम्बेको संयोजकत्वमा ३ सदस्यीय निर्वाचन समिति पनि गठन गरेको छ । निर्वाचन समितिका अन्य सदस्यहरुमा केन्द्रिय सदस्य पुष्पा भुसाल र प्रकाश रसाईली स्नेही रहनुभएको प्रवक्ता महतले जानकारी दिनुभयो । त्यस्तै सातवटै प्रदेशहरुमा पनि सबै दलहरुसँग समन्वय गरेर सरकार गठनको प्रक्रियालाई अगाडी बढाउने निर्णय भएको उहाँले बताउनु भयो । प्रवक्ता महतले ३ दिनभित्रमा काँग्रेस संसदीय दलको निर्वाचन भइसक्ने जानकारी दिनुभयो ।








