काठमाडौं २ पुस ।
प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संसदमा प्रभावकारी भूमिका निर्वाह गर्न पार्टीबाट निर्वाचित प्रतिनिधिसभाका सांसदहरुलाई निर्देशन दिनु भएको छ । प्रधानमन्त्री देउवाले पार्टीबाट निर्वाचित प्रतिनिधिसभाका सांसदहरुलाई शनिबार आफ्नै सरकारी निवास बालुवाटारमा बधाईँ दिँदै सो निर्देशन दिनु भएको हो । प्रतिनिधिसभामा निर्वाचित सबै सांसदहरुलाई प्रधानमन्त्री देउवाले संसदमा प्रभावकारी भूमिका निर्वाह गर्न निर्देश गर्नु भएको सञ्चारमन्त्री समेत रहनु भएका काँग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनु भयो । उहाँले काँग्रेसकै नेतृत्वमा गठबन्धन सरकार बन्ने र त्यसमा सबै पक्षलाई समेटेर अघि बढन आफूहरुले चाहेको पनि स्पष्ट पार्नु भयो । मन्त्री कार्कीले चाँडै नै सत्तारुढ गठबन्धन दलको बैठक बस्ने र सरकारको नेतृत्वलगायतका विषयमा ठोस छलफल हुने विश्वास समेत व्यक्त गर्नु भयो । उहाँले सत्तारुढ गठबन्धनले निर्णय गरेपछि मात्रै सरकार गठनबारे आफूले केही भन्न सक्ने पनि बताउनु भयो ।








