काठमाडौं १० मंसिर  ।

तिब्र गतिमा सवारी साधन चलाउने चालकहरुलाई ट्राफिक प्रहरीले अनिवार्य रुपमा सचेतना कक्षा दिने भएको छ ।
ट्राफिक प्रहरीले तिब्र गतिमा सवारी साधन चलाउने चालकहरुलाई मंसिर १५ गतेदेखि अनिवार्य रुपमा एक घण्टाको सचेतना कक्षा दिने भएको हो । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले शुक्रवार पत्रकार भेटघाट कार्यक्रम
गर्दै सो कुराको जानकारी दिएको हो । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता राजेन्द्रप्रसाद भट्टले तिब्र गतिमा सवारी साधन चलाउनेहरुलाई ट्राफिक नियम अनुसार कारबाही गर्दै एक घण्टाको सचेतना कक्षामा सहभागि भएपछि मात्रै छोडिने बताउनु भयो । उहाँले उपत्यकामा हुने धेरै सवारी दुर्घटनाहरु तिब्र गतिका कारण हुने गरेको भन्दै सवारी दुर्घटनालाई न्युनिकरण गर्नका लागि सचेतना कक्षा दिनुपर्ने आवश्यकता गरहेको बताउनु भयो । उहाँले यसअघि मादक पदार्थ सेवन गरेर चलाउने, लेन अनुशासन पालना नगर्ने र रातो बत्ति क्रस गर्नेहरुलाई मात्रै सचेतना कक्षा दिइँदै आएको उल्लेख गर्नुभयो । प्रवक्ता भट्टले गत साउन महिनादेखि हालसम्म सडकमा गुडिरहेका यान्त्रिक अवस्था ठिक नभएका ३५२ वटा सवारी साधनलाई परीक्षण तथा कारबाहीका लागि यातायात व्यवस्था विभागमा पठाइएको बताउनु भयो । ठूलो ध्वनि निकाल्ने १८ वटा मोटरसाइकललाई पनि नियन्त्रणमा लिएर परीक्षण गरी कारबाही गरिएको उहाँले जानकारी दिनुभयो । उहाँले कुनैपनि सवारी साधनमा ‘बम्पर गार्ड’ नराख्न अनुरोध गर्नुभयो । राखिएको भएपनि मंसिर १५ गतेसम्ममा हटाउन आग्रह गर्नुभयो । सो अवधिसम्म नहटाएमा कारबाही प्रक्रिया अगाडी बढाइने पनि उहाँले जानकारी दिनुभयो ।
उहाँले स्कुल बस निर्देशिका २०७४ बमोजिम स्कुल बस नचलाउनेलाई १७० जना चालकहरुलाई कारबाही गरिएको जानकारी दिनुभयो । जसमध्ये मादक पदार्थ सेवन गरेर सवारी चलाउने ३७ जना चालक परेको उहाँको भनाई छ । १२ वटा स्कुलबसहरु भने मापदण्ड अनुरुपको स्वरुपमा नचलेकाले नियन्त्रणमा लिई मापदण्ड अनुरुपको स्वरुप बनाउन लगाइएको उहाँले बताउनु भयो । त्यस्तै दर्ता बिना चलाइएको विद्युतिय मोटरसाइकललाई पनि कारबाही गरिएको उहाँले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here