काठमाडौं २६ कात्तिक ।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले सत्तारुढ गठबन्धनका उम्मेदवारहरुलाई अत्याधिक मतका साथ विजयी गराउन अपिल गर्नु भएको छ । प्रतिगामी र अवसरवादी तत्वहरुले फेरी मुलुकमा राजनीतिक दूर्घटना निम्त्याउन नदिन पनि आम मतदाताले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सत्तारुढ गठबन्धनका उम्मेदवारहरुलाई विजयी गराउनुपर्ने उहाँको भनाई थियो । शनिबार चितवनमा आयोजित सत्तारुढ गठबन्धनको चुनावी सभामा बोल्दै अध्यक्ष दाहालले फेरी प्रतिगमनले टाउको उठाउन नपाउने गरी नेपाली जनताले निर्वाचनमा एकता प्रर्दशन गर्नुपर्ने धारणा समेत राख्नु भयो । निर्वाचनलाई अग्रगमन रोज्ने र कि प्रतिगमन रोज्ने जनमत संग्रहको रुपमा अथ्र्याउँदै उहाँले नेपाली जनताले अग्रगमनको पक्षमा मतदान गर्ने विश्वास समेत व्यक्त गर्नु भयो ।अध्यक्ष दाहालले सत्तारुढ गठबन्धनले चुनाव जिते मात्रै मुलुकमा विकास र समृद्धिको मार्ग खुल्ने जिकीर समेत गर्नु भयो । उहाँले संविधानको रक्षा गर्न, लोकतन्त्र र लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि सत्तारुढ दलहरुबीच गठबन्धन गर्नु परेको पनि पटकपटक दोहो¥याउनु भयो ।








