काठमाडौं १८ कात्तिक ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक ई.प्रदीप अधिकारीले पोखरा अन्तर्राष्ट्रिय विमास्थलको ग्राउण्ड ह्याण्डलिङ नेपाल नागरिक उड्डयन प्राधिकरण आफैँले गर्ने बताउनुभएको छ । बिहीवार गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमानस्थल भैरहवामा भैरहवा–कुवलालम्पुर उडानको उद्घाटन कार्यक्रमपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै महानिर्देशक अधिकारीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउण्ड ह्याण्डलिङको काम प्राधिकरणले गर्ने बताउनुभएको हो । उहाँले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउण्ड ह्याण्डलिङ अरु कसैलाई दिन अवस्थामा प्राधिकरण नभएको स्पष्ट पार्नुभयो । यो विषयमा धेरै विवाद भएका कारण प्राधिकरणले सो निर्णय गर्नुपरेको उहाँले उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो – ‘नेपाल एयरलाइन्सको ग्राउण्ड ह्याण्डलिङको गुणस्तरमाथि विविध समयमा प्रश्नचिन्ह खडा भएको अवस्था छ । नेपाल एयरलाइन्सले अहिलेसम्म गरिरहेको ग्राउण्ड ह्याण्डलिङलाई हामीले डिस्टर्ब गर्नुपर्छ । यसलाई हटाउनुपर्छ भन्ने मान्यता त छैन । तर त्यो हुँदाहुँदै पनि कानूनप्रदत्त अधिकार कसैको हनन भएको पनि सरकारले हेरेर बस्न सक्दैन । कि कानून संशोधन हुन्छ । कि कानून पालना हुन्छ । भैरहवाको हकमा कमर्सियल चाहीँ उहाँलाई हामी यसै्र दिन सक्दैनौँ । यो कुरा क्लियर छ कि यसमा प्रतिष्पर्धामा जानुप¥यो । अब यो अवस्थामा गौतमवुद्ध चलाउने शर्तमा र गरिरहेको ग्राउण्ड ह्याण्डलिङ जसले वायु सेवा कम्पनी सञ्चालन गर्छ, उसको यहाँ उपस्थिति नभएको खण्डमा त्यो विषयमा पनि प्राधिकरणले सोच्छ । ग्राउण्ड ह्याण्डलिङ मात्रै गरेर बस्छु भन्ने सुविधा छैन । हेक्का राख्दा हुन्छ, ग्राउण्ड ह्याण्डलिङ मात्रै गर्छु । जहाज उडाउँदिन भन्ने छुट छैन । पोखरा अन्तर्राष्ट्रिय विमास्थलको ग्राउण्ड ह्याण्डलिङ अब नेपाल नागरिक उड्डयन प्राधिकरण स्वयम् गर्नेछ । यो कसैलाई दिने अवस्थामा हामी छैनौँ । किनभने यो विषयमा धेरै नै विवाद भो । कि यो प्रतिष्पर्धात्मक हुन्छ । कि प्राधिकरण आफ्नो अधिकार प्रयोग गर्छ । नेपालको कानूनले ग्राउण्ड ह्याण्डलिङको जिम्मा नेपाल नागरिक उड्डयन प्राधिकरणलाई दिएको छ । त्यसकारणले पोखराको विमानस्थलमा अब कि प्रतिष्पर्धात्मक हुनेछ । कि प्राधिकरण आफैँले गर्नेछ । उहाँले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल राम्रोसँग सञ्चालन गर्नका लागि सबै पक्ष जिम्मेवार भएको बताउनु भयो । विमानस्थल सञ्चालनका लागि पर्यटन प्रवद्र्धन गर्नुपर्ने र देश विदेशमा प्रचार प्रसार गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । बिहीवारदेखि हिमालय एयरलाइन्सले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट क्वालालम्पुर उडान शुरु गरेको छ । पहिलो उडानमा १३५ जनाले भैरहवाबाट क्वालालम्पुरको उडान भरेका छन् । हालका लागि भैरहवाबाट नियमित चार्टड उडान गरिने र आगामी दिनमा भने सेड्युल उडान गर्ने हिमालय एयरलाइन्सले जनाएको छ ।








