काठमाडौं १८ कात्तिक ।
एक वर्षभित्र १५ किसिमका कृषि औजारहरु उत्पादनगर्ने लक्ष्य वीरगञ्जको कृषि औजार कारखानाको मर्मतसम्भार कार्य शुरु गरिएको छ । दुई दशक अघिबाट बन्द रहेको कारखानालाई महावीर पुनको आविष्कार केन्द्रले पुनः सञ्चालनमा ल्याउने भएसँगै मर्मत कार्य र कारखानामा भएका सामग्रीको लागत संकलन शुरु भएको हो । गत भदौ ३१ गतेको मन्त्रिपरिषद् बैठकले कृषि औजार कारखाना आविष्कार केन्द्रलाई सञ्चालन गर्न दिने निर्णय गरे पश्चात आविष्कार केन्द्रले गत मंगलवारदेखि कारखानाको सरफाई र मर्मतसम्भार गर्न थालेको छ । वि।सं। २०२४ साल फागुन २८ गते रुसको सहायतामा स्थापना भएको उद्योग सञ्चालनको जिम्मेवारी पाउनुभएका आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले कृषि औजार कारखानाले कृषि क्षेत्रलाई आवश्यक पर्ने औजार उपकरणहरुको उत्पादन गर्ने, नयाँ औजार उपकरणहरुको आविस्कार गर्ने पनि बताउनु भयो । अध्यक्ष पुनले कारखानालाई आधुनिकीकरण गरेर अघि बढ्नसके मात्रै कारखाना नाफामा जाने बताउनु भयो । पुरानै अवस्थामा कारखानामा सबै कृषि औजार उत्पादन गर्न नसकेपनि एक वर्षभित्र १०÷१५ किसिमका कृषि औजारहरु उत्पादन गर्ने लक्ष्य आविस्कार केन्द्रले राखेको बताउनु भयो । उहाँले आविष्कार केन्द्रले २÷३ वर्ष भित्रमा पूर्ण क्षमतामा सञ्चालनमा ल्याउने र सकेसम्म ३ सिफ्ट नै सञ्चालन गर्ने लक्ष्य लिएर केन्द्र अघि बढेको बताउनु भयो । आविष्कार केन्द्र र सरकारबीच १० वर्षसम्म सञ्चालन गर्ने सहमति भएको यो कारखानाको सबै खर्च र स्वामित्व सरकारमा निहीत रहने बताइएको छ । नाफामा लैजानसके केन्द्र र सरकारलाई बराबर भाग लाग्ने पनि समहति भएको छ । स्वदेशमै आविष्कार केन्द्र नहुँदा वर्षेनी अर्बौंको कृषिऔजार बाहिरी मुलुकबाट आयात भइरहेका छन् ।








