काठमाडौं २२ असोज ।
प्रतिनिधिसभाका सभामुख अग्नीप्रसाद सापकोटाले आगामी मंसीर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गर्नु भएको छ । शनिबार सिंहदरवारमा पत्रकार सम्मेलन गरी सभामुख सापकोटाले आफूले सो निर्वाचनमा उम्मेदवार नबन्ने निर्णय गरेको बताउनु भएको हो । त्यस अवसरमा उहाँले लगातार ३ पटकसम्म आफूलाई निर्वाचित गराएर राष्ट्रिय भूमिका निर्वाह गर्ने र जनताको सेवा गर्ने अवसर दिएको भन्दै सिन्धुपाल्चोकका मतदाताप्रति आभार समेत व्यक्त गर्नु भएको छ । सभामुख सापकोटाले आफू संसदीय भूमिकामा नरहेपनि देश, जनता र अग्रगमनको पक्षमा निरन्तर क्रियाशील भइरहने प्रतिवद्धता व्यक्त गर्नु भयो । अग्रगामी राजनीतिक अभियन्तामार्फत् आम नेपाली नागरिकको समुन्नतिका लागि आफ्नो बुद्धि र विवेकले भ्याएसम्म काम गर्ने उहाँको भनाई थियो । सभामुख सापकोटाले राज्य र जनताले आवश्यक ठानेमा जुनसुकै जिम्मेवारी बहन गर्न तयार रहेको उल्लेख गर्दै राजनीतिक एवम् सामाजिक मञ्चमार्फत् सबै नेपालीको स्वाभिमान र आत्मविश्वास उचो बनाउन आफ्नो सक्रियतामा कुनै कमी आउन नदिने पनि बताउनु भयो । उहाँले भन्नु भयो, ‘मलाई लगातार तीन पटक निर्वाचित गरी राष्ट्रिय भूमिका निर्वाह गर्ने र जनताको सेवा गर्ने अवसर दिनु भएकोमा सिन्धुपाल्चोकका आधारणीय मतदाता एवम् जनसमूदायमा हार्दिक आभार व्यक्त गर्दछु । संघर्षशील पृष्ठभूमि, राजनीतिक पहलकदमीको सम्भाव्यता तथा जिम्मेवारीप्रतिको इमान्दारिताका कारण पार्टी, सिन्धुपाल्चोक र खासगरी क्षेत्र नम्बर १ का मतदाता एवम् शुभचिन्तकहरुले पुनः जनप्रतिनिधिको भूमिका निर्वाह गरोस् भन्ने शुभेच्छा राख्नु भएकोमा धन्यवाद दिँदै आगामी २०७९ मंसीर ४ को प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने निर्णय गरेको निवेदन गर्न चाहन्छु ।
संसदीय भूमिका नरहेपनि म देश, जनता र अग्रगमनको पक्षमा निरन्तर क्रियाशील भईरहनेछु । र, अग्रगामी राजनीतिक अभियन्तामार्फत् आम नेपाली नागरिकको समुन्नतिका लागि आफ्नो बुद्धि र विवेकले भ्याएसम्म काम गर्नेछु । त्यस्तै, राज्य र जनताले आवश्यक ठानेमा जुनसुकै जिम्मेवारी वहन गर्न तयार छु । राजनीतिक एवम् सामाजिक मञ्चमार्फत् सबै नेपालीको स्वाभिमान र आत्मविश्वास उचो बनाउन मेरो सक्रियतामा कुनै कमी आउन दिनेछैन । मानव जातिको उन्नतिका लागि परिश्रम गर्नु मेरो जीवनको आर्दश हो । सभामुख सापकोटा २०६४ को पहिलो संविधानसभा र २०७० को दोस्रो संविधानसभामा सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट निर्वाचित हुनु भएको थियो भने २०७४ सालको निर्वाचनमा सिन्धुपाल्चोक क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा निर्वाचित हुनु भएको थियो । तत्कालिन सभामुख कृष्णबहादुर महरामाथि बलात्कार आरोप लागेपछि माओवादी केन्द्रबाट सभामुख बन्ने अवसर उहाँलाई प्राप्त भएको थियो । यस अवधिमा सापकोटाले सञ्चार तथा सूचना प्रविधि मन्त्री र वन तथा वातावरणमन्त्री बन्ने असर समेत पाउनु भएको थियो । सभामुख सापकोटाले जनप्रतिनिधिको रुपमा र सभामुखको रुपमा आफूले देश र जनताको पक्षमा सदैव समर्पित भएर काम गरेको दावी समेत गर्नु भयो । उहाँले जनप्रतिनिधिको रुपमा आफूले सिन्धुपाल्चोकबासीको विकासको चाहनालाई मूर्तरुप दिन ज्ञान, क्षमता र विवेकले भ्याएसम्म मेहनत गरेको पनि बताउनु भयो ।







