काठमाडौं,१०,भदौ ।
काठमाडौं महानगरपालिकाले नक्शा पास बिना अवैध रुपमा बनाइएको काठमाडौं मलको संरचना भत्काएको छ ।महानगरपालिकाले बुधवार सुन्धारामा रहेको काठमाडौं मलस्थित नक्शा पास बिना बनाइएका संरचनाहरुलाई डोजर लगाएर भत्काएको हो । संरचना भत्काउनका लागि पुग्नुभएका एक नगर प्रहरीले अवैध संरचना हटाउनका लागि महानगरपालिकाले ३५ दिने सूचना गोरखापत्रमा प्रकाशित गरिसकेको र सम्बन्धित ठाउँमा पनि टाँस गरेको भएपनि अटेर गरेका कारण महानगरपालिकाले भत्काउनु परेको बताउनु भयो । उहाँले कसैले पनि कानून जान्दिन भन्न नपाउने भन्दै कानूनको अवज्ञा कसैले गर्नु नहुनेमा जोड दिनुभयो । आफूहरु महानगरपालिकाले दिएको निर्देशनको पालनकर्ता भएको उहाँले बताउनु भयो । काठमाडौं मलको अवैध संरचना भत्काएसँगै स्थानीय व्यापारीहरुमा खैलाबैला मच्चिएको छ । एक व्यापारीले महानगरले अवैध संरचना भत्काउने काम स्वागतयोग्य भएपनि मानवताको हिसावले व्यापारीलाई केही समय दिनुपर्ने धारणा राख्नुभयो । सबै व्यापारीलाई एक ठाउँ राखेर महानगरले एकपटक कुरा गरेको भए व्यापारीलाई धेरै मर्का नपर्ने उहाँको भनाई छ ।
अर्का व्यापारीले आफूहरुले सञ्चयकोषको जग्गामा संरचना बनाएर व्यापार गर्न ठेकेदारमार्फत सम्झौता गरेको भन्दै सञ्चयकोष र महानगरबीचको सहमतीमा संरचना भत्काएको भए उपयुक्त हुने बताउनु भयो । उहाँले आफूहरुको सम्झौता अनुसार अझै साढे दुई वर्ष भोगचलन गर्न बाँकी रहेकाले सञ्चयकोषसँग कुरा गर्ने पनि बताउनु भयो । काठमाडौं मलमै भेटिएका अर्का व्यापारीले आफूहरुले सम्झौता अनुरुप भाडा तिरिरहेको र राज्यलाई कर पनि तिरिरहेको भन्दै संरचना भत्काउँदा लगानी अनुरुपको क्षतिपुर्ति दिनुपर्ने माग गर्नुभयो । व्यापारीलाई अन्य ठाउँमा व्यवस्थापन गर्नुपर्नेमा पनि उहाँले जोड दिनुभयो । काठमाडौं महानगरपालिकाले न्युरोडस्थित आरबि कम्प्लेक्समा पनि नक्शा पास विपरित बनाएको संरचना भत्काएको छ । सो स्थानमा ड्युटीमा खटिएका एक नेपाल प्रहरीका अधिकारीले संरचना भत्काउने मुल जिम्मेवारी महानगरको भएपनि आफूहरु सुरक्षाको निम्ति उपस्थित भएको बताउनु भयो । उहाँले अण्डरग्राउण्ड पार्किङका लागि नक्शा स्वीकृत गरेर अन्य प्रयोजनका लागि प्रयोग गरिरहेको संरचनाहरु हटाउँदै जाने सूचना आफूले पाएको बताउनु भयो ।
अवैध संरचना हटाउनका लागि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह आफैँ पुग्नुभएको थियो ।







