काठमाडौं,२० साउन,  ।

विश्वविद्यालयहरूमा कुनै पनि कारणले तालाबन्दी हुनुहुँदैन । विडम्बना भनौं हाम्रा विश्वविद्यालयहरूले पटक–पटक विभिन्न बहानामा तालाबन्दी झेल्नु परिरहेको छ । यो क्रम पछिल्लो समय झन् बढ्दो देखिन्छ । यसले हाम्रो समग्र शिक्षा क्षेत्रलाई नै नकारात्मक असर गरिरहेको छ । त्यसैले कसरी हुन्छ विश्वविद्यालयहरूमा हुने तालाबन्दी अन्त्य गर्नुपर्छ भनेर म लागिरहेको छु । आशा छ हामी चाँडै नै यसको एउटा समाधान निकाल्न सफल हुनेछौं ।

शिक्षासँग सम्बन्धित कुनै पनि कुरा वार्ता, टेबुल, सहमतिमा समाधान गर्न सकिने विषय हो । प्राध्यापकहरू, विद्यार्थी, विश्वविद्यालयमा कार्यरत कर्मचारीहरू यी सबै विश्वविद्यालय शिक्षासँग सम्बन्धित पक्षहरू हुन् । यी सबैका समस्या, मागहरू वार्ताद्वारा हल गर्न नसकिने विषय होइनन् । तालाबन्दी गरेर होइन, वार्ता, संवाद र छलफलबाट समाधान खोजौं भन्दै आएको छु । यो विषयमा मैले सबै पक्षहरूसँग बसेर पटक–पटक कुरा गरिरहेको छु ।

१८ साउन २०७९ मा पनि विद्यार्थी संघ–संगठनसँग तालाबन्दी अन्त्यका लागि मेरो कुरा भएको छ । वार्ताद्वारा समस्या समाधानको उपाय खोज्नुहोस् भनेको छु । प्राध्यापक संघ–संगठनहरूसँग पनि कुरा गरेको छु । उहाँहरूलाई पनि वार्ताद्वारा हल खोज्नुहोस् तालाबन्दी गर्ने कार्य रोक्नुहोस् भनेको छु । सबैतिर अब तालाबन्दी नगर्नुस् भनेको छु । अब तालाबन्दी रोक्नका लागि एउटा ठोस निर्णय गर्ने बेला भएको छ । हामी यसको तयारी गरिरहेका छौं ।

कतिपय विश्वविद्यालयका कुलपति प्रधानमन्त्री हुनुभएकोले विश्वविद्यालयमा तालाबन्दी रोक्ने विषयमा उहाँसँग पनि सल्लाह गरें । उहाँले पनि विश्वविद्यालयमा तालाबन्दी हुनुहुन्न, यो रोक्नुपर्छ भन्नुभएको छ । पटक–पटक त्रिविमा अन्य विश्वविद्यालमा भइरहने तालाबन्दीले शैक्षिक क्षेत्रमा पारिरहेको असरबारे सबैलाई चिन्तित बनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here