१८ साउन,  ।

सप्तकोशीको बाढी पसेपछि डुबानमा परेका श्रीलंका टापुका बासिन्दाको उद्धारको काम भइरहेको छ । बाढीमा डुबेका उदयपुरको बेलका, र सुनसरीको बराहक्षेत्रका बासिन्दाको उद्धारमा सशस्त्र प्रहरी, नेपाल प्रहरी लगायतले उद्धार गरिरहेका छन् ।

यस्तै उद्धार हुनेमा एक हुन् बेलका ३ की सुशीला मगर । उनका अनुसार बिहानसम्म घरमा पानी पसेको थिएन । सप्तकोशी नदीको दुई भंगालोको बीचमा घर भएकी उनले भनिन्,  ‘तर दिउँसो भएपछि पानी घरसम्मै आयो, बसेको ठाउँमा घुँडा घुँडासम्म पानी आयो ।’उद्धार भएर सुरक्षित ठाउँमा आइपुगे पनि उनका श्रीमान घरमै छन् । उनी जोखिम मोलेरै घर रुँघ्न बसेका हुन् । ‘म केटाकेटी काखी च्यापेर यता आएँ, घरमा बाख्रापाठा, सुँगुर छन्, छाड्न सकिएन, त्यसैले श्रीमान् उतै हुनुहुन्छ ।’

बाख्रापाठा तथा सुँगरलाई टाँडमा चढाएर राखिएको छ । अब अलिकति पानी बढ्यो भने ती पनि डुब्ने चिन्ता उनलाई छ ।बेलकाकै शंकर माझी शारीरिक रूपमा अशक्त छन् । घरमा बाढी पसेपछि प्रहरीले उनलाई पहिलो प्राथिकता दिएर उद्धार गर्‍यो । घरमा सबै सरसामान छाडेर एक सरो कपडामा भरमा सुरक्षित ठाउँमा आइपुगे पनि उनलाई अब कता बस्ने र के खाने भन्ने चिन्ता छ ।सुशीला र शंकर दुबैले श्रीलंका टापुमा यस्तो विपद्को सामना गर्नु परेको थिएन । सुशीलाले भनिन्, ‘ म बसेको १२ वर्ष भयो, अहिलेसम्म यस्तो बाढीको आएको थाहा थिएन, आज त अचम्मैको दुख आइलाग्यो ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here