काठमाडौं,१५,साउन  ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले युरोपियन युनियनले नेपालको हवाई क्षेत्रलाई छिट्टै कालो सूचीबाट हटाउने बताउनुभएको छ । आईतवार नेपाल नागरिक उडड्यन प्राधिकरणले आयोजना गरेको ‘आर्थिक वर्ष २०७९÷०८० को बजेट तथा कार्यक्रम सम्बन्धी पत्रकार भेटघाट कार्यक्रम’मा बोल्दै मन्त्री श्रेष्ठले छिट्टै नेपाललाई युरोपियन युनियनले कालो सूचीबाट हटाउने बताउनुभएको हो । उहाँले आईकाओले गरेको अडिट अनुसार नेपालको हवाई क्षेत्र राम्रो रहेको बताउनु भयो । उहाँले सम्बन्धित पक्षले नेपाल नागरिक उडड्यन प्राधिकरणलाई पत्राचार गरेर अनसाइट अडिट पठाउँछौ भनिसकेको उल्लेख गर्दै त्यसपछि नेपाल कालोसूचीबाट हट्ने बताउनु भयो । उहाँले भन्नुभयो – ‘युरोपियन युनियनको लिस्टेडबाट नेपाललाई हटाउनुपर्छ त्यसको लागि हामीले उच्च प्राथमिकताकासहित काम अगाडी बढाउनुपर्छ भन्ने मान्यता राखेकै हौँ । सम्बन्धित निकायहरुसँग कुराकानी गर्ने काम्पनी निरन्तर रुपमा भइरहेकै हो । आईकाओले अडिट गरेको अवस्थामा हामीले जुन पोजिशन पाएका छौँँ, हामीले राम्रो स्कोर पाएका छौँ भने अब उनीहरुले हामी सहकार्य गर्न चाहन्छौँ । पार्टनरसिपमा हामी जान चाहन्छौँ । त्यसैले हामी अनसाइट अडिट पठाउँछौँ भन्ने कुरा लेटर हाम्रो क्यानको महानिर्देशकलाई सम्बोधन गरेर पठाएको छ । मलाई लाग्छ यो हाम्रो लागि खुशीको कुरा हो । अब हामी यो प्रक्रियाबाट चाँडै नै युरोपियन युनियन अथवा इशाको तर्फबाट हामीलाई जुन लिस्डेट भइरहेको स्थिति हो, त्यसबाट अनसाइट अडिट भइसकेपछि हामी यो लिस्टेड बाट हट्छौँ र हामी युरोप फ्लाइटहरु पनि गर्नसक्ने स्थिति निर्माण हुन्छ भन्ने मलाई लाग्छ । यो हामी सबैको लागि खुशीको सन्देश हो ।

उहाँले भैरहवा विमानस्थललाई पूर्ण रुपमा सञ्चालन गरिने बताउनु भयो । त्यसका लागि नयाँ विमानहरुलाई आकर्षित गर्ने र सुविधाहरु दिइने उहाँको भनाई छ । त्यस्तै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पनि जहाजहरु बढाएर पूर्ण रुपमा सञ्चालन गरिने उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो – ‘भैरहवा विमानस्थललाई पूर्ण रुपले सञ्चालन गर्नेतर्फ पनि हाम्रो ध्यान गएको छ । त्यहाँ कसरी नयाँ विमानहरुलाई आकर्षित गर्ने, र सञ्चालनका लागि सुविधाहरु कसरी दिने भन्ने कुराहरुमा उल्लेख गरेका छौँ । क्यानको तर्फबाट दिँदैँ आएको छुटलाई निरन्तरता दिने कुराहरु र नेपाल एयरलाइन्सको तर्फबाट ग्राण्ड हेल्डीलिङका कुराहरुलाई पनि अहिले केही त्यसलाई रिभ्यु गर्ने काम भइसकेको छ । त्यसका केही छुट अझ हामीले दिने कुराहरु गरेका छौँ । त्यो काम अगाडी बढाउँछौँ । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पनि अहिलेको अवस्था भन्दा अझ जहाजको संख्याहरु बढ्ने र फुल फेजमा सञ्चालन हुने स्थिति बन्छ । धेरै भन्दा धेरै पर्यटकहरु लुम्बिनी आउने स्थिति निर्माण हुनसक्छ भन्ने विश्वास लिएका छौँ । मन्त्री श्रेष्ठले विमानस्थललाई समृद्ध बनाउनु आवश्यक रहेको बताउनु भयो । उहाँले अन्तर्राष्ट्रिय विमानस्थल र आन्तरिक विमानस्थललाई सुदृढ, व्यवस्थित र प्रभावकारी बनाइने स्पष्ट पार्नुभयो ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here