बुटवल,१५,साउन ।

अर्घाखाँचीको मालारानी गाउँपालिका–२ घर भई बुटवल बेलबासमा बस्ने विष्णुबहादुर पाण्डेको हत्या लेनदेनको कारण भएको खुलेको छ । उनको हत्या आरोपमा प्रहरीले अर्घाखाँचीकै पाणिनी गाउँपालिका–२ घर भई रुपन्देहीको सैनामैना–६ कलौनी बस्ने दीपक भन्ने ४३ वर्षका कुलचन्द्र गौतमलाई पक्राउ गरेको छ । पाण्डेसँग किनेको ट्रकको पैसा तिर्न नसकेपछि गौतमले कालिज मार्न जाने बहाना बनाएर जंगलमा लगी हत्या गरेको खुलेको प्रहरीले बताएको छ । प्रहरीका अनुसार पाण्डेको लु १ ख ७७८१ नम्बरको ट्रक गौतमले पछि रकम तिर्ने शर्तमा किनेका थिए । उक्त रकम दिने भन्दै गौतमले पाण्डेलाई ९ साउनमा बुटवलबाट अर्घाखाँचीको पाणिनी पुर्‍याएका थिए । तर घरमा पुगेपछि परिवारले रकम नभएको बताएपछि कुलचन्द्रले योजनावद्ध रुपमा हत्याको योजना बनाएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी ठगबहादुर केसीले बताए । १० साउनमा गौतमले पाण्डेलाई कालिज मार्न जाऔं भनी पाणिनी गाउँपालिका–२ डांडाकटेरीस्थित सिद्ध सामुदायिक वनको जंगलमा पुर्‍याएका थिए । त्यहाँ पाण्डेलाई फलामको रडले पछाडिबाट टाउकोमा प्रहार गरी भीरबाट खसालेर हत्या गरेको अनुसन्धानबाट खुलेको केसीले बताए ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here