काठमाडौं,१३,साउन ।
संसदीय विशेष समितिले सभामुख अग्निप्रसाद सापकोटालाई प्रतिवेदन बुझाउने समय तय भएको छ । सभामुखलाई बुझाए लगत्तै सदनमा पेश गर्ने तयारी छ । बिहीबार नै समय सकिएको समितिले शुक्रबार सभामुखलाई प्रतिवेदन बुझाउने निर्णय गरेको थियो । सोही निर्णय अनुसार जेष्ठ सदस्यको हैसियतमा समितिको संयोजकत्व गरेका लक्ष्मणलाल कर्णले दिउँसो ३ बजे सभामुखलाई प्रतिवेदन बुझाउने तय भएको हो । संसद सचिवालयका अनुसार संसद भवन नयाँ वानेश्वरमै सभामुखलाई प्रतिवेदन बुझाइनेछ । प्रतिनिधिसभाको जारी बैठकलाई स्थगित गरेर आजै अर्को बैठक राख्ने, पहिलो बैठक स्थगित गरेर छानबिन समितिको प्रतिवेदन सभामुखले बझेर दोस्रो बैठकमा पेश गर्ने तयारी छ । करको दल हेरफेर गर्न अनधिकृत व्यक्तिको प्रवेश भएको भनी प्रश्न उठेपछि २२ असारमा ११ सदस्यीय समिति गठन भएको थियो । समितिलाई सुरुमा १० दिनको समय दिइएको थियो । समय अपुग भएको भनी साउन ५ गते सात दिन समय थप भएको थियो । प्राप्त समयमै छानबिन समितिले प्रतिवेदन तयार गरेको छ । तयार प्रतिवेदनमा ‘अनधिकृत व्यक्तिको प्रवेश पुष्टि हुन नसकेको’ समितिले निष्कर्ष निकालेको छ ।