म्याग्दी, १७ भदौ |

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घोडेपानीस्थित सङ्ग्रहालय संरक्षणको पर्खाइमा छ । दुई दशक अघि स्थापना भएको उक्त सङ्ग्रहालयको भवन साँघुरो र जीर्ण छ । घोडेपानी पुनहिल आमा समूहले पर्यटक आकर्षित गर्ने उद्देश्यले २०६० सालमा कच्ची भवनमा स्थानीय सामग्री सङ्कलन गरेर सङ्ग्रहालय स्थापना गरेका थिए ।ग्रामीण जीवनशैली, संस्कृति बुझ्ने र हेर्नका लागि आँखिझ्यालको रुपमा रहेको उक्त सङ्ग्रहालयको भवन पुरानो भएकाले नियमित सञ्चालन गर्न नसकिएको समूहका अध्यक्ष तारा गर्बुजा पुनले बताउनुभयो । सङ्ग्रहालयमा म्याग्दीमा बसोबास गर्ने विभिन्न जातजातीले प्रयोग गर्ने मौलिक कपडा, भाँडाकुडा, कृषि औजार, पुराना पुराना सिक्का, रुपैयाँ, मदानी, ठेकी, मदिरा उत्पादन गर्ने भाँडा लगायतका सामग्री सङ्कलन गरेर राखिएको छ । ग्रामीण शैलीको मौलिकता झल्कने नयाँ भवनको आवश्यकता रहेको समूहका सदस्य सपना गुरुङले बताउनुभयो । “ढुङ्गा, माटो र काठले बनेको, जस्तापाताले छाएको भवनमा एक सय वर्षभन्दा पुराना सामग्री सङ्कलन गरिएको छ ।सङ्ग्रहालयमा विभिन्न जातजातीको मौलिक पहिचान झल्कने कपडा राख्ने र पर्यटकलाई मौलिक पोसाकमा सजिएर तस्बिर, भिडियो खिच्न भाडामा दिने व्यवस्था मिलाउन सकेमा आम्दानीको स्रोत बन्ने घोडेपानी होटल व्यवस्थापन उपसमितिका अध्यक्ष मीना पुनले बताउनुभयो । गतवर्ष २५ हजारजना भन्दा बढी विदेशी पर्यटक भित्रिएको घोडेपानीमा पछिल्लो समय स्वदेशी पर्यटक पनि विदेशिकै हाराहारीमा आउने गरेका छन् । व्यवस्थित नहुँदा पाहुना र पर्यटकलाई सङ्ग्रहालय देखाउन नसकिएको आमा समूहका सदस्यहरुले बताएका छन् ।अन्नपूर्ण चक्रीय पदमार्ग अन्तरर्गत समुद्रि सतहदेखि दुई हजार आठ सय मिटरको उचाइमा रहेको घोडेपानीको पृष्ठभूमिमा गुरासँको जङ्गल र हिमशृङ्खलाको दृष्य अवलोकन गर्न सकिन्छ । समुद्रि सतहदेखि तीन हजार द्ई सय १० मिटर उचाइमा रहेको विश्वप्रसिद्ध पुनहिल भ्रमण गर्न आउने पर्यटक घोडेपानीमा बास बस्ने गर्दछन् ।आमा समूहले गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जाली र प्रदेश सांसद हरिबहादुर भण्डारीसँग संग्रहालय भवनको पुनःनिर्माणका लागि प्रस्ताव गरेका छन् । उहाँले घोडेपानीमा गण्डकी प्रदेशकै नमुना सङ्ग्रहालय बनाउन भवन पुनःनिर्माणका लागि बजेट व्यवस्थापन गर्न समन्वय र पहल गर्ने प्रतिबद्धता जनाउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here