विराटनगर,१०,साउन ।

किशोरीमाथि सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले करातेका दुई जना प्रशिक्षकलाई पक्राउ गरेको छ । १९ वर्षीया किशोरी बलात्कारको आरोपमा विराटनगर महानगरपालिका–४ का ५० वर्षीय अमर भनिने सुरज सुवेदी र विराटनगर–३ का ५० वर्षीय विनोद राउतलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए । पक्राउ परेका दुबै जना कराते प्रशिक्षक हुन् । राउत राष्ट्रिय खेलकुद परिषदको मोरङ जिल्लाका र सुवेदी संखुवासभाका कराते प्रशिक्षक हुन् । किशोरीले होटलमा लगेर सामूहिक बलात्कार गरेको जाहेरी दिएपछि आइतबार पक्राउ गरेर हिरासतमा राखेको डीएसपी श्रेष्ठले बताए । राष्ट्रिय खेलकुद परिषद् (राखेप) बाट २०५२ सालमा करारमा प्रशिक्षक नियुक्त दुवै जनाले २०६१ सालदेखि स्थायी प्रशिक्षकको नियुक्ति पाएका थिए । प्रहरीका अनुसार दुई महिना अघिदेखि किशोरी कलेज जान छाडेकी थिइन् । अभिभावकले सोधीखोजी गरेपछि उनले आफू सामूहिक बलात्कारमा परेको र कलेजमा जानसक्ने अवस्थामा नभएको बताएपछि अभिभावकको सहयोगमा जाहेरी दिइएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here