काठमाडौं,३,साउन ।
विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्र संवैधानिक राजसंस्थाको पक्षमा खुलेका छन् । मिश्रले ‘विचारभन्दा माथि देश’ नामक नयाँ पुस्तक लेखेका छन्, जसमा नेपालमा संवैधानिक राजसंस्था पुनःस्थापना गर्नुपर्ने उल्लेख गरिएको छ । संघीयता खारेज गरी नेपाललाई ‘हिन्दू–बौद्ध राष्ट्र’ बनाउनुपर्ने उनको प्रस्ताव छ । मिश्रले विवेकशील साझा पार्टीको अध्यक्ष रहेका बेला २२ साउन २०७८ मा मार्ग परिर्वतन स् ‘विचारभन्दा माथि देश’ नामक दस्तावेज सार्वजनिक गरेका थिए । संघीयता खारेजी र धर्म निरपेक्षताबारे जनमत संग्रह गर्न प्रस्ताव गरेका उनले एकताको प्रतीकका रुपमा राजाको स्वीकार्यता उच्च देखिएको बताएका थिए ।राजतन्त्रको पक्षमा खुलेको भन्दै मिलन पाण्डे समूहले असन्तुष्टि जनाएपछि विवेक शील साझा पार्टी फुट्यो । स्थानीय तह चुनावमा पार्टीले नराम्रो पराजय व्यहोरेपछि मिश्रले ११ जेठ २०७९ मा अध्यक्षबाट राजीनामा दिएका थिए ।
अहिले मिश्र विचारभन्दा माथि देशको प्रस्तावमा थप खुलेर आएका छन् । ‘विचारभन्दा माथि देश’ दस्तावेजमा आएको प्रतिक्रिया, भएका छलफल–बहस तथा बढ्दै गएको देशको भूराजनीतिक र आन्तरिक संवेदशीलतालाई मनन गरेर परिमार्जन र विस्तार गरी पुस्तकको रूप दिएको मिश्रले बताएका छन् । गणतन्त्र, सङ्घीयता र धर्म निरपेक्षता जस्ता विषय सैद्धान्तिक रूपमा गलत नभए पनि दिन प्रतिदिन संवेदनशील हुँदै गएको नेपालको भूराजनीति र आन्तरिक परिस्थितिका कारण दूरगामी हितका लागि घातक भएको उनको निष्कर्ष छ । अब ढिलो नगरी नेपालमा संवैधानिक राजसंस्था पुनःस्थापना गर्नुपर्ने उनले बताएका छन् । नेपाललाई इतिहासका गल्ती र भविष्यका चुनौतीको कसीमा राखेर हेर्ने हो भने अब पृथ्वीनारायण शाहको ‘दिव्योपदेश’ र बीपी कोइरालाको ‘राष्ट्रिय एकता र मेलमिलापको नीति’लाई समायोजित रूपमा अङ्गीकार गर्नुको विकल्प नभएको उनको निष्कर्ष छ ।