काठमाडौं,३,साउन  ।

काठमाडौं महानगरपालिकाका एकजना जनप्रतिनिधले कुकुर मार्ने अभिव्यक्ति दिएपछि उनको चर्को आलोचना सुरु भएको छ । पशुअधिकारकर्मीहरुले यस्तो अभिव्यक्ति दिने जनप्रतिनिधिलाई कारबाही हुनुपर्ने आवाज उठाइरहेका छन् । असहाय गाईबाच्छा संरक्षण अभियानले विज्ञप्ति नै जारी गरेर ‘कुकुर मार्छु’ भन्ने अभिव्यक्ति दिने जनप्रतिनिधिलाई कारबाही गर्न माग गरेको छ । काठमाडौं महानगरपालिका वडा नम्बर ३० का वडाध्यक्ष दलबहादुर कार्कीले कार्यपालिका बैठकमै कुकुर मार्ने अभिव्यक्ति दिएका थिए । उनले भनेका थिए, ‘बजारमा कुकुर मार्ने औषधि खोजी रहेको थिएँ । बजारमा औषधि नै छैन, औषधि पाएको भए २ हजार ५ सय कुकुर एकै पटक मार्ने थिएँ । म पहिला पनि कुकुर मारेको मान्छे पनि हो । अभियानका अध्यक्ष उत्तम पुडासैनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘काठमाडौं महानगरपालिका जस्तो गरिमामय संस्थाका एकजना वडा अध्यक्षले कुकुर मार्ने जुन अभिव्यक्ति सार्वजनिक रुपमा दिनुभयो त्यसले उहाँको सोच र हैसियतलाई छताछुल्ल मात्र बनाइदिएको छैन अन्तर्राष्ट्रिय जगतमा हाम्रो शीर निहुरिएको छ ।

‘यो धर्ती मान्छेको मात्र होइन, सबै प्राणीहरुको साझा बासस्थान हो । संसार २१औं शताब्दिको सोचमा मग्न भइरहँदा हामी उही १६औं शताब्दिको पुरातन सोचमा रुमलिएका छौं’ पुडासैनीले भनेका छन् । अनगिन्ति पीडालाई सहन गर्दै धेरै अर्थमा मान्छेको सहयात्री र रक्षकका रुपमा आफनो ख्याती आर्जन गरेका अवोध कुकुरहरुको उचित व्यवस्थापन र उनीहरुको सम्मानजनक जीवनयापनको बदलामा उनीहरुलाई मार्ने सोच पाखण्डपनको पराकाष्टा भएको उनको भनाइ छ । विगतमा कुकुर मारेको तथ्यलाई गौरवका रुपमा प्रस्तुत गर्ने वडाध्यक्षको असंसदीय अभिव्यक्ति प्रति खेद ब्यक्त गर्दै उनले यस्ता व्यक्ति जनप्रतिनिधिका रुपमा रहिरहनु राष्ट्रकै लागि लज्जाको बिषय भएको बताए । घृणात्मक अभिव्यक्ति, हत्या र हिंसा जस्ता कृयाकलापको वकालत आफैंमा अपराधकर्म भएको र दण्डनीय रहेको भन्दै उनले त्यस्ता व्यक्तिमाथि कारबाही हुनुर्ने माग राखेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here