काठमाडौं,२,साउन ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद खिमलाल भट्टराईले रुपन्देहीको तिलोत्तमा नगरपालिकाको नगरसभा बैठकको घटनाको सम्बन्धमा गृहमन्त्रीको जवाफ माग गर्नुभएको छ । सोमवारको राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै सांसद भट्टराईले तिलोत्तमा नगरपालिकाको नगरसभामा नेपाल प्रहरी प्रवेश गरी जनप्रतिनिधिलाई धेकेलेर पोखरीमा चोबलेको भन्दै आपत्ति जनाउनु भयो । उहाँले प्रहरीको शासन चलाउन खोजेको हो भनेर गृहमन्त्रीलाई प्रश्न समेत गर्नुभयो । उहाँले गृहमन्त्रीले आफ्नो भाई मेयर भएको सो नगरपालिकामा प्रहरीको ज्यादती गराउनुभएको आरोप लगाउनु भयो । वडा अध्यक्षलाई पोखरीमा चोबल्ने डिएसपीलाई कारबाही गर्न उहाँले माग गर्नुभयो । जनप्रतिनिधिलाई सार्वजनिक स्थानमा अपमान गरेर र प्रहरी शासन लगाएर लोकतन्त्र बलियो नहुने उहाँले बताउनु भयो । सो घटनाको सम्बन्धमा गृहमन्त्री बालकृष्ण खाँणले जवाफ दिनुपर्ने सांसद भट्टराईले माग गर्नुभयो । उहाँले भन्नुभयो – ‘तिलोत्तमा नगरपालिकामा हिजो जुन घटना घट्यो, त्यहाँ भित्रको अरु विषयवस्तुमा म जान्नँ । तर आज देशमा यो लोकतन्त्र हो कि प्रहरीको सेक्युरिटीको शासन चलाउन खोजेको हो देशमा । म नामै लिन चाहन्छु, डिएसपी ठगबहादुर केसीले त्यहाँको वडाअध्यक्ष हरिबहादुर क्षेत्रीलाई घोक्र्याएर पोखरीमा चोबलेको छ । यही हो लोकतन्त्र ? यसले लोकतन्त्रलाई स्थापित गर्छ ? यसले गणतन्त्रलाई स्थापित गर्छ यस्तै व्यवहारले ? डिबेटहरु हुनसक्छ, लोकतन्त्रमा । लोकतन्त्रको सुन्दरता भनेकै बहशबाट निस्कर्षमा पुग्ने पद्धती हो । बहशहरु हुन सक्छन् । विवादहरु हुन सक्छन् । छलफल हुन सक्छ । कहिलेकाहीँ चालु बैठकलाई रोक्नुपर्ने हुन सक्छ । लोकतन्त्रमा त्यसो गरिन्छ कि अनि पुलिस लगाएर शासन गर्ने कोशिस गरिन्छ ? पुलिस लगाएर शासन गर्ने कोशिस भइरहेको छ । गृहमन्त्रीको भाई त्यहाँ मेयर हुनुहुन्छ । गृहमन्त्रीज्यूको अण्डरमा पुलिस छ । अनि पुलिस लगाएर शासनको दम्भ देखाउने । अनि यसैले हाम्रो लोकतन्त्र, गणतन्त्र बच्छ भन्ने हामीले ठानेका छौँ ? यसरी स्थापित हुन्छ भन्ने ठानेका छौँ ? र सधैँभर दिग्विजय हो यो ? अहिलेको गठबन्धनको यो दिग्विजय हो ? सधैँभरी यो चालु रहिरहने हो ? रहिरहन्छ भन्ने ठानिरहेका छौँ हामीले ? म गृहमन्त्री ज्यूले उहाँको भाई मेयर भएको ठाउँमा, उहाँको पुलिसले ज्यादती गरेको छ । म गृहमन्त्रीज्यूले त्यहाँको डिटेल रिपोर्ट यो सदनमा पेस गर्नुपर्छ । उहाँले भन्नुपर्छ । कसरी जाने भनेर । त्यो डिएसपी कारबाहीमा पर्छ कि पर्दैन हामी हेर्छौं । कार्यक्रम भइरहेको परिसरमा जनप्रतिनिधिलाई घोक्राएर पोखरीमा चोबल्ने डिएसपी कारबाहीमा पर्छ कि पर्दैन ? हामी हेर्न चाहन्छौँ ? र गृहमन्त्रीले के भन्नुहुन्छ ? त्यो सबै उहाँको भाई मेयर भएको ठाउँको विषयमा उहाँ के भन्नुहुन्छ त्यो हामी सुन्न चाहन्छौँ । कसरी उहाँले यो लोकतन्त्रलाई अगाडी बढाउन चाहनुहुन्छ त्यो हामी सुन्न चाहन्छौँ । उहाँको जवाफ आओस् भनेर म जवाफ माग गर्न चाहन्छु ।

उहाँले प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको सभापतिको राजीनामा माग गर्नुभयो । लोकतन्त्रको मुल्य, मान्यता र संसदीय परम्परा अनुरुप सार्वजनिक लेखा समितिको सभापति प्रतिपक्ष दललाई दिनुपर्ने उहाँको भनाई छ । प्रतिपक्ष दलबाट सभापति बनाउन उहाँले ध्यानाकर्षण गराउनु भयो । उहाँले भन्नुभयो – ‘सार्वजनिक लेखा समितिको सभापतिको म तुरुन्त राजीनामाको माग गर्छु । मैले यो कुनै मैले एउटा विषय उठाउनको लागि उठाएको छैन । सार्वजनिक लेखा समितिको सभापति प्रतिनिधि सभाको, यो सुशासनको कुरा हो । भ्रष्टाचारमुक्त नेपाल बनाउने कुरा गर्छौ भने यो त्यो कुरा हो । जसले ढुकुटीको चाबी हातमा लिन्छ, उसैले हिसाव राख्ने । उसैले छानबिन गर्ने यस्तो हुन्छ ? लोकतन्त्रको मूल्यको कुरा हो यो ? अनि हामीले अपनाएको संसदीय मान्यताको कुरा हो यो ? जसले ढुकुटीको साँचो हातमा लिन्छ उसैले हिसाव राख्ने ? उसैले छानबिन गर्ने ? उसैले लेखापरीक्षण गर्ने यस्तो हुन्छ ? नेकपा(एमाले)लाई चाहिएको छैन । मैले एमालेलाई सार्वजनिक लेखा समितिको सभापति दिनुहोस् भनेर मैले अनुरोध गरेको छैन । तर प्रतिपक्षलाई दिने यो संसदीय परम्परा हो । यो लोकतन्त्रको मूल्य, मान्यता हो । त्यसकारणले राजीनामा दिनुस् । र प्रतिपक्षबाट सार्वजनिक लेखा समितिको सभापति बनाउनुस् भनेर म यसको ध्यानाकर्षण गराउन चाहन्छु गम्भिरतापूर्वक ।’

सांसद भट्टराईले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले भारत भ्रमणका क्रममा गठबन्धन जोगाउन पदको बाँडफाँड गरेको सन्देश बाहिर गएकाले यसबारे प्रष्ट पार्नुपर्ने बताउनु भयो । उहाँले भारत भ्रमणको क्रममा राष्ट्रपति र प्रधानमन्त्री को हुने भनेर बाँडफाँड गरिएको कुरा सामाजिक सञ्जालमा आएको भन्दै त्यस्तो नहोस् भन्ने चेतावनी समेत दिनुभयो । उहाँले भन्नुभयो – ‘जुन मिटिङ बस्नुभयो र सामाजिक सञ्जालमा बाहिर जे सन्देश देशमा आएको छ, पदको बाँडफाँड त्यहाँ बसेर गरियो भन्ने कुरा छ । सत्ता गठबन्धन जोगाउने, कायम राख्ने अगाडी बढाउने र त्यसको साथमा पदको बाँडफाँड गरेर को राष्ट्रपति हुने ? को प्रधानमन्त्री हुने ? कति समय को बस्ने ? त्यसपछि को बस्ने भन्ने खालको कुरा गरियो भन्ने खालका कुरा आएको छ । यो नहोस् । यस्तो कुरा हिजो राणाकालमा हामीले सुन्यौँ । तर यस्तो नहोस् अबको नेपालमा । यो लोकतन्त्र, गणतन्त्र हामीले यसको लागि ल्याएको होइन । विदेशी भूमीमा गएर सिटको बाँडफाँड गर्ने । पदको लागि चाकडी गर्ने । हामीले भिख मागेर पद, पदासीन हुनुभन्दा भिखारी नै भएर सडकमा हिँड्नु मजा हुन्छ । यस्तो कुराको सन्देश अहिले देशमा गइराखेको छ । यो दुःखदायी कुरा हो । यसले देशको लोकतन्त्रलाई बलियो बनाउँदैन । उहाँले नागरिकता सम्बन्धी विधेयक फाष्टट्रयाकमा पारित गरेर नागरिकता बिहीनहरुलाई नागरिकता दिलाउनुपर्ने बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here