काठमाडौं,१८,असार ।
पश्चिम तराईका थारु समुदायलाई वंशानुगत सिकलसेल एनिमिया र थालेसेमिया रोग
बढ्दै गएको छ ।
सिकलसेलबाट सन्तानलाई बचाउनका लागि अनिवार्य रूपमा रगतजाँच गरेर विवाह
कुण्डली मिलाउन भनिएको हो । अन्य समुदायमा पनि फाट्टफुट्ट देखिन थालेको
सिकलसेल रोग रोकथामका लागि थारू समुदायलाई रगतजाँच गरेर विवाह कुण्डली
मिलाउन विशेषज्ञ डाक्टरहरुले सुझाव दिएका छन् । यतिबेला बाँकेका थारू
गाउँहरुमा ‘कस्ताले कस्तासँग विवाह गर्ने’ भन्ने पम्प्लेट नै
छ्याप्छ्याप्ती बाँडिएको छ । सिकलसेल विशेषज्ञ डा।राजन पाण्डेले तयार
पारेको विवाह कुण्डलीमा सिकलसेलका बिरामी–बिरामीका बीचमा विवाह गर्नै
नमिल्ने उल्लेख छ । पचास प्रतिशत बिरामी र पचास प्रतिशत बाहकले पनि विवाह
गर्न नमिल्ने भनिएको छ । २५ प्रतिशत सामान्य, २५ प्रतिशत बिरामी र ५०
प्रतिशत बाहकका बीचमा विवाह गर्दापनि सोच विचार गर्नुपर्ने भनिएको छ ।
सामान्यतया विवाहगर्दा चिना हेर्ने गरिन्छ तर थारू समुदायमा भने रगतजाँच
गर्नुपर्ने भएको छ । सन्तानलाई सिकलसेलबाट बचाउनका लागि विवाह पूर्व नै रगत
जाँच गरी बाहकहरु पत्ता लगाएर बाहक–बाहकबीच र बाहक र रोगीबीच विवाह गर्नु
हुँदैन भन्ने कुरा समुदायलाई सिकाएर ससमुदायले स्विकार्न जरुरी रहेको भेरी
अस्पताल बाँकेका फिजिसियन मेडिकल बिभागका बिभागीय प्रमुख तथा सिकलसेल,
थालेसिमिया रोगका श्रोत व्यक्ति डा।राजन पाण्डले बताउनु भयो । उहाँले पचास
प्रतिशत सामान्य र पचास प्रतिशत बाहकका बीचमा विवाह गर्न मिल्ने उल्लेख
गर्नुभयो । अहिले रोग नदेखिएपनि उनीहरुबाट जन्मेको बच्चामा रोग सर्न
सक्नेलाई ‘बाहक’ भन्ने गरिएको भन्दै उहाँले यसका बारेमा थारु समुदायलाई
सचेत गराउन आवश्यक रहेको बताउनु भयो ।
बिरामीका आफन्तहरु भने उपचारमा धेरै खर्च लाग्ने हुँदा सिकलसेल बिरामी तथा
आफन्तहरु भने सरकारले बिरामीलाई बाचुन्जेल निःशुल्क औषधि गरिदिनुपर्ने माग
गर्छन् । बिरामीका आफन्त रामकृष्ण थारुले निःशुल्क उपचार सरकारले
गर्नुपर्ने माग राख्नुभयो । उहाँले उपचारका लागि धेरै खर्च लाग्ने भएकोले
आफूले उपचार गर्न नसक्ने अवस्था रहेको बताउनु भयो । सरकारले सिकलसेललाई
जनस्वास्थ्य समस्याभन्दै पश्चिमका अस्पतालहरुमा जाँच विपन्न नागरिक औषधि
उपचार कार्यक्रमअन्तर्गत सिकलसेल एनिमियाका बिरामीलाई १ लाख रुपैयाँ
बराबरको निःशुल्क उपचारको व्यवस्था गरेको छ । भेरीमा औषधि खाइरहेका २०
जनाको यो औषधिको सीमा सकिन थालेको छ ।
बाँके, बर्दिया, कैलाली, कंचनपुर, दाङ, कपिलबस्तुलगायतका जिल्लाका थारु
समुदायमा सिकलसेल जनस्वास्थ्य समस्याकारुपमा रहेको छ । यतिबेला बाँकेको
राप्ती सोनारी गाउँपालिका र कोहलपुर नगरपालिकामा सिकलसेलको परीक्षण र उपचार
भइरहेको छ । रगत जाँच गरिएकामध्ये १० देखि १५ प्रतिशतमा सिकलेसलका बिरामी
फेला परेका छन् । सिकलसेलका रोगीले खाने औषधि नै महंगो छ । सरकारले
अत्यावश्यक औषधिको सूचिमा सिकलसेल रोगीको औषधि पनि राखेको छ । तर बीमामा
भने समावेश गरिएको छैन । जसका कारण औषधिको सीमा सकिएका बिरामीले बीमाबाट
सिकलसेलका लागि चाहिने औषधि पाउन सकेका छैनन् । भेरी अस्पतालमा दैनिक ३
देखि ७ जना थाईलेसिमियाका बिरामीहरुले रगत चढाउने गरेका छन् । यसकारण
स्वास्थ्य कार्यालयले बाहक पुरुष र बिरामी महिला तथा बाहक महिला र बिरामी
पुरुष बीच विवाह गर्नु नहुने विज्ञहरुको भनाइ छ । स्वास्थ्य कार्यालय
बाँकेले भेरी अस्पतालमा हप्तामा सोमवार र बिहीवार निःशुल्क उपचारको
व्यवस्था मिलाईएकाले उपचार गर्न आउने बिरामीका लागि बिरामीको कार्ड बनाएर
वितरण गरेको छ ।








