काठमाडौं,१६,असार  ।

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले राष्ट्रिय सभा बैठकमा अर्थमन्त्री
जनार्दन शर्मालाई बहिष्कार गरेको छ ।
राष्ट्रिय सभाको शुक्रवारको बैठकमा अर्थमन्त्री शर्माले बजेट आश्रित
विधेयकहरु सभामा पारित गर्नका लागि पेस गर्ने कार्यसूची रहेको थियो । तर
प्रमुख प्रतिपक्ष नेकपा (एमाले) ले बजेट निर्माणका क्रममा अर्थमन्त्रीले
अनाधिकृत व्यक्तिलाई अर्थ मन्त्रालयमा छिराएर करको दायरालाई हेरफेर गरेकोले
अर्थमन्त्रीको राजीनामा माग गरेको हो । एमालेका सांसद भैरवसुन्दर श्रेष्ठले
अर्थमन्त्रीको राजीनामा नआउञ्जे आफूहरु अर्थमन्त्रीले प्रश्स्तुत गर्ने
कुनै कार्यक्रममा सहभागी नहुने पार्टीको संसदीय दलको निर्णय भएको बताउनु
भयो । उहाँले अर्थमन्त्री शर्माले देशद्रोही र घातक काम गरेको उल्लेख
गर्नुभयो । सांसद श्रेष्ठले आफूहरुले बैठकमा अर्थमन्त्रीको कार्यसूची
बहिष्कार गर्ने बताएसँगै एमाले सांसदहरु बाहिरिएका थिए ।

एमालेले अर्थमन्त्रीलाई बहिष्कार गरेसँगै राष्ट्रिय सभाका अध्यक्ष
गणेशप्रसाद तिमिल्सिनाले आफ्नो प्रश्ताव पेस गर्न अर्थमन्त्री शर्मालाई
आग्रह गर्नुभएको थियो । बैठकमा अर्थमन्त्रीले पेस गर्नुभएको ‘आर्थिक विधेयक
२०७९ लाई मुल रुपमै सुझाव बिना पारित गरी प्रतिनिधि सभामा फिर्ता पठाइयोस्’
भन्ने प्रश्ताव बहुमतले पारित गरेको छ । त्यस्तै राष्ट्रिय सभा अध्यक्ष
तिमिल्सिनाले ‘प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त राष्ट्र ऋण उठाउने
विधेयक २०७९ लाई मुल रुपमै सुझाव बिना पारित गरी प्रतिनिधि सभामा फिर्ता
पठाइयोस्’ भन्ने प्रश्ताव स्वीकृत भएको घोषणा गर्नुभयो । त्यसैगरी,
अर्थमन्त्री शर्माले पेस गर्नुभएको ‘ऋण तथा जमानत (पच्चिसौँ संशोधन) विधेयक
२०७९ लाई मुल रुपमै सुझाव बिना पारित गरी प्रतिनिधि सभामा फिर्ता पठाइयोस्’
भन्ने प्रश्ताव पनि बहुमतले पारित भएको छ ।
अर्थमन्त्री शर्माले पेस गर्नुभएको प्रश्तावमाथिको कारबाही सकिए लगत्तै
एमाले सांसदहरु पुनः राष्ट्रिय सभा बैठकमा भाग लिन प्रवेश गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here