काठमाडौं,१५,असार ।

विदेशमा सम्पत्ति राख्न नपाउने व्यवस्था राख्न संसदमा एक विधेयकमाथि संशोधन प्रस्ताव दर्ता भएको छ ।नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सामाजिक सुरक्षा ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयकमा संशोधन दर्ता गर्दै यस्तो प्रस्ताव अगाडि सारेका हुन् ।प्रस्तावित विधेयकको प्रस्तावनामै विदेशमा सम्पत्ति राख्न नपाउने भनी किटान गरिनुपर्ने सांसद सुवालको प्रस्ताव छ ।‘नेपालीको आर्थिक समानता, सामाजिक न्याय, व्यक्तित्व विकासमा समान अवसरको लागि विदेशमा सम्पत्ति राख्न नपाउने, सम्पत्तिको सीमा निर्धारण गरी सामाजिक सुरक्षा गर्नु वाञ्‍छनीय भएकोले’ सांसद सुवालले गरेको संशोधन प्रस्तावमा उल्लेख छ ।नेमकिपाले विदेशमा सम्पत्ति राख्न नपाउने व्यवस्था संविधानमै राख्न पहल गरेको थियो । संविधान निर्माणकै क्रममा नेमकिपाले ‘नेपाली नागरिकको सम्पत्तिको सीमांकन गरिनेछ, विदेशमा सम्पत्ति राख्न नपाउने व्यवस्था गरिनेछ र जमिनमा जोत्नेको हक हुनेछ’ भन्ने संशोधन प्रस्ताव दर्ता गरेको थियो । जुन तत्कालिन संविधानसभाले बहुमतले अस्वीकृत गरेको थियो ।संविधानमा नसमेटिए पनि नेमकिपाले यो विषयलाई निरन्तर उठाउँदै आएको छ ।संविधानको धारा २५ मा प्रत्येक नागरिकलाई कानूनको अधीनमा रही सम्पत्ति आर्जन गर्ने, भोग गर्ने, बेचबिखन गर्ने, व्यावसायिक लाभ प्राप्त गर्ने र सम्पत्तिको अन्य कारोबार गर्ने हक हुने उल्लेख छ ।संविधानमा विदेशमा सम्पत्ति राख्न पाउने वा नपाउने किटान नगरिएका कारण कानुन बनाएर यो विषयलाई सम्बोधन गर्न सकिने नेमकिपाका सांसद सुवाल बताउँछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here