रौतहट,१५,असार ।
आज असार १५, मानो रोपेर मुरी फलाउने दिन । धान किसानका लागी आज रोपाई दिवस पनि हो ।सरकारले धान रोपाई दिवस मनाइ रहदा किसान भने मल अभावमा खेती कसरी गर्ने भन्ने पीरमा डुबेका छन । रौतहटका धान किसानले यस वर्ष पनि सरकारले समयमै मल उपलब्ध गराउनेमा विश्वस्त छैनन ।रौतहट जिल्लामा ६५ हजार ९६९ हेक्टर कुल खेती योग्य जग्गा रहेको जसमा ४० हजार ६२५ हेक्टर जग्गामा धान खेती गर्ने गरिन्छ भने बाँकीमा अन्य खेती किसानहरुले गर्छन । मौसमको प्रतिकुलता, समयमा मलखाद्य उपलब्ध नहुनु र विभिन्न किराहरुको प्रकोपका कारण रोग लागि दाना नलाग्नाले उत्पादनमा धेरै ह्रास आउने गर्छ ।उर्वर भूमी भएर पनि कृषकलाई चाहिने अत्यावश्यक सामग्रीहरुको अभावका बारेमा सरकारले समयमै ध्यान नदिदा धान उत्पादन गर्ने रौतहटका कृषकहरु मारमा परेका छन । खेतमा धानबालि लगाएका किसानले वर्षौ देखि मलखादको चरम अभाव भोगी रहेका छन । कृषि सामग्रीकै अभावमा उत्पादन घटेन थाले पछि किसानहरु धानखेतीको विकल्प खोज्न थालेका छन । रौतहटका बजारहरुमा यूरिया मलको अभाव भएको र भारतीय सिमाक्षेत्रबाट ल्याउदा समेत कानूनी झन्झटको सामना गर्नु परेको किसानको दुखेसो छ । नेपाली बजारमा नपाइने र भारतबाट समेत ल्याउन नदिए पछि किसान आक्रोशित बनेका छन ।
किसानले माँग गरे बमोजिमको मलखाद नेपाल सरकारले उपलब्ध गराउन सकेको छैन । नेपालमा मौसमको आधारमा वर्षे धान, चैते धान, भदैया धान, घैया धान र हिउँदेधान (बोरो) को रुपमा धान खेती हुने गर्दछ । नेपालमा खेती गरिने कूल क्षेत्रफलको ४७ प्रतिशत जमिनमा धान खेती गरिन्छ जस मध्ये क्षेत्रफल र उत्पादनमा तराई क्षेत्रको हिस्सा ७० प्रतिशत भन्दा वढी छ । अन्नबाली उत्पादनको कूल क्षेत्रफलको करीब ४३ प्रतिशतमा धान खेती हुने गरेको र कूल अन्नबाली उत्पादनमा ५३ प्रतिशत धानको हिस्सा रहेको छ । नेपालमा बार्षिक करिब १.५ खर्ब रुपैयाँ बराबरको धान तथा यसका उप–उत्पादनहरु प्राप्त हुने गर्दछ । मुलुकको कूल गार्हस्थ्य उत्पादनमा २६.५० प्रतिशत अंश कृषिको रहेकोमा धानको कृषिक्षेत्रको गार्हस्थ्य उत्पादनमा १५.३५ प्रतिशत योगदान रहेको छ ।








