काठमाडौं,१५,असार ।
नेपाल राष्ट्र बैंकले नबिल बैंक र नेपाल-बंगलादेश (एनबी) बैंकबीचको मर्जरका लागि अन्तिम स्वीकृति दिएको छ । कर्मचारी समायोजनमा हेलाहोचो भएको भन्दै विवाद भएपछि राष्ट्र बैंकले अन्तिम स्वीकृति रोकेको थियो ।तर, बुधबार बसेको राष्ट्र बैंकको सञ्चालक समिति बैठकले अन्तिम स्वीकृति प्रदान गरेको स्रोतले बतायो ।कर्मचारीहरुको पदीय हैसियत सम्बन्धमा दुवै बैंकका कर्मचारीमा विवाद छ । राष्ट्र बैंकले नै यसमा चासो दिएपछि दुबै पक्षले यसलाई सल्टाउने आश्वासन दिएका छन् ।मर्जरमा नेपाल बंगलादेश बैंकका कनिष्ठ कर्मचारीलाई माथिल्लो हैसियतमा ल्याउन लागेको भन्दै नबिल बैंकका कर्मचारी असन्तुष्ट छन् । नबिल बैंकका सञ्चालकहरुले सुटुक्क बंगलादेश बैंकका कनिष्ट कर्मचारीलाई पदस्थापन गर्न खोजेको नबिलका कर्मचारीहरुको आरोप छ ।
यता बंगलादेश बैंकका कर्मचारीहरुले भने समान रुपमा लामो समयदेखि एउटै क्षेत्रमा समान हैसियातमा काम गरेका कर्मचारीहरुलाई अन्यय गरेर मर्जर गर्न खोजिएको भन्दै आपत्ति जनाएका छन् । उनीहरुले समान हैसियातमा मर्जरपछि कर्मचारीको पदास्थापन नगरिए मन्य नहुने चेतावनी दिँदै आएका छन् ।दुई बैंकका सञ्चालक समितिको अनौपचारिक सहमति अनुसार सुरुवातमा नबिल बैंकको हालको पदमा बंगलादेश बैंकका सोही पदका कर्मचारीको तीन पद तल समायोजनको सहमति भएको थियो । तर, बंगलादेश बैंकका कर्मचारी केही अघिदेखि यसमा असन्तुष्टि तीब्र पारेपछि नबिलका व्यवस्थापककले कर्मचारीको पदस्थापनमा अन्याय नहुने अनौपचारिक सहमति गरेका थिए ।२९ पुस, २०७८ मा नै नबिल बैंक र नेपाल बंगलादेश बैंकबीच एक आपसमा मर्जरमा जाने सम्झौता पत्रमा हस्ताक्षर भएको थियो ।नबिलले स्वाप रेसियो १०० :४२ मा नेपाल बंगलादेश बैंकलाई नबिल बैंकले गाभ्ने समझदारी गरेको छ । अर्थात् अब नेपाल बंगलादेश बैंकको एक सय कित्ता सेयर बराबर नबिल बैंकको ४२ कित्तामात्रै सेयर हुनेछ । मर्जरपछि बैंकको नाम नबिल बैंक नै हुने प्रारम्भिक सहमति छ ।







