धनगढी,३,असार ।

अछामको पञ्चदेवल विनायक नगरपालिका–४ का १५ वर्षीय किशोर विनोद शाही मृत भेटिएको दुई साता पुग्दा समेत घटनामा प्रहरीले तथ्य फेला पार्न सकेको छैन ।घटनाको अनुसन्धानका लागि वरिष्ठ प्रहरी उपरीक्षक(एसएसपी) जनकराज पाण्डे र सीआईबीका प्रहरी नायब उपरीक्षक(डीएसपी) मनोहरप्रसाद भट्ट नेतृत्वको टोली खटाइए पनि अनुसन्धानमा प्रगति नभएको प्रहरीले जनाएको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक(एसएसपी) भोलाबहादुर रावलले घटनाको अनुसन्धान जारी भएपनि अहिलेसम्म कुनै प्रगति नभएको बताए । ‘शाही मृत भेटिएको घटनाको अनुसन्धान जारी छ तर अहिलेसम्म कुनै ‘क्लु’ फेला नपर्दा हाम्रो अनुसन्धान शून्यमै छ,’ एसएसपी रावलले अनलाइनखबरसँग भने, ‘हाल जिल्ला प्रहरी कार्यालयले पाँच जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।’उनकाअनुसार शंकास्पद व्यक्तिहरुलाई नियन्त्रणमा लिएर सोधपुछ गर्ने क्रम जारी भएपनि घटनाबारे तथ्य फेला नपर्दा समस्या भइरहेको छ तर तथ्य केलाउने काम भने जारी छ ।

गत जेठ १७ गते रातिदेखि बेपत्ता भएका शाही २१ गते घर नजिकैको जंगलमा मृत अवस्थामा फेला परेका थिए । गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनका दिन पञ्चदेवल विनायक नगरपालिकामा कांग्रेस र एमालेका कार्यकर्ताबीच भएको विवादलाई लिएर कांग्रेस कार्यकर्ताले दिएको जाहेरीका आधारमा १७ जेठमा प्रहरीले पक्राउ गर्न खोज्दा अवरोध गरेपछि दोहोरो झडप भएको थियो । सोही क्रममा शाही बेपत्ता भएका थिए ।

उक्त विवादकै विषयलाई लिएर कांग्रेसबाट निर्वाचित पञ्चदेवल विनायक नगरपालिकाकी मेयर अम्बिका चलाउनेसहितका १३ जनाविरुद्धको किटानी प्रहरीले दर्ता नगरेको भन्दै पीडित पक्षले ६ दिनसम्म शव बुझेको थिएन । हुलाकमार्फत पठाइएको जाहेरी प्रहरीले दर्ता गरेपछि मात्र शव बुझेर अन्त्येष्टि गरेका थिए ।तर प्रहरी प्रशासनले आरोपितलाई पक्राउ गर्न आनाकानी गरेको भन्दै उनीहरु फेरि आन्दोलनमा उत्रिएका छन् । आन्दोलनका कार्यक्रम अन्तरगत बिहीबार पञ्चदेवल विनायक नगरपालिका घेराउ गरेका स्थानीयले शुक्रबार जिल्ला प्रशासन कार्यालयमा नाराबाजीसहित घेराउ गरेका छन् । शनिबारदेखि प्रशासनको मूल गेट अगाडि रिले अनसन बस्ने पीडित पक्षले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here