काठमाडौं, जेठ , १४ ।उर्जा, जलश्रोत तथा सिंचाई मन्त्री पम्फा भुसालले पेट्रोलियम पदार्थको आयात कम गर्न साइकिल र विद्युतीय सवारीसाधनको प्रयोग गर्नुपर्ने बताउनुभएको छ । .
शनिवार महिनवारी स्वच्छता दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भुसालले यस्तो बताउनुभएको हो । उहाँले पट्रोलियम पदार्थबाट चल्ने सवारीसाधनको प्रयोगलाई कम गर्न साइकिल उपर्युक्त विकल्प भएको बताउनु भयो । मन्त्री भुसालले साइकिल र विद्युतीय सवारीसाधनको प्रयोगले वावरणलाई स्वच्छ बनाउने र भोग्नुपरेको वातावरणीय समस्या समाधान हुने पनि बताउनु भयो । मन्त्री भुसालले भन्नुभयो, ‘पेट्रोलियम पदार्थमा मूल्यवृद्धि भएको छ, जसले सबै क्षेत्रमा प्रभाव पारेको छ । यो साइकिल यात्राले त्यसको जवाफ दिन्छ, हामीसँग भरपुर जलश्रोत छ । साइकिलले नपुगेको बेला विद्युतीय यातायात सञ्चालन गर्नुहुनेछ भन्ने आशा छ । वातावरणीय हिसवाले भोगिरहेका समस्या समाधान हुन्छन् । वातावरण साइकिल यात्रा र विद्युतीय सवारीले समाधान गर्नेछ ।’
मन्त्री भुसालले महिनावारी हुँदा महिलालाई हेप्ने समाजको दृष्टिकोणलाई परिवर्तन गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले महिला महनिावारी हुनु भनेको कुनै नराम्रो कुरा नभइ महिला भएको परिपक्वताको टुंगो लागेको बताउनु भयो । मन्त्री भुसालले महिनावारी हुनु पाप नभइ गर्वको कुरा भएको भन्दै पछिल्लो समय सोचमा परिवर्तन भइरहेको बताउनु भयो । उहाँले स्यानिटरी प्याडको निःशुल्क वितरणसँगै विद्यार्थीहरु अध्ययनबाट वञ्चित हुन नपरेको बताउनु भयो । मन्त्री भुसालले अझै शहरमै पनि महिला महिनावारी हुँदा विभिन्न समस्या भोगिरहनुपरेको भन्दै यसबिरुद्ध सचेतनामुलक कार्यक्रम गर्न आवश्यक रहेको बताउनु भयो ।
मन्त्री भुसालले भन्नुभयो, ‘महिलाको शरीरमा यस्तो एउटा जैविक बनावट छ । जसले शरीरका हरेक विकृत पदार्थहरु महिनावारीको रुपमा एउटा निश्चित उमेर पुगेपछि र एउटा निश्चित उमेर अवधिसम्म बहिर्गमन गराउने मासिक प्रक्रिया हो । यसलाई क्रमशः बुझ्दै जाँदा यो राम्रो प्रक्रिया हो । यसले मातृत्वको, महिलामा भएको क्षमताको पहचिान गराउँछ । शारीरिक स्वस्थताको निम्ति शरीरमा भएका विकृत पदार्थको बहिर्गमन पनि हो । पछिल्लो पटक स्यानिटरी प्याडको आफ्नै ढंगले विकास भएको छ । महिनावारी हुनु पाप होइन, गर्वको कुरा हो । विद्यार्थीहरु महिनावारी भएपछि पढ्न नजाँदा अध्ययन छुट्ने समस्या थियो त्यो क्रम रोकिएको छ । शहरमै पनि यस्ता समस्या छन्, त्यसलाई हामीले वैज्ञानिक तथ्य र सचेतता र शिक्षाले जागरुक गराउनुपर्छ ।’
महिनावारी स्वच्छता दिवसको अवसरमा आज काठमाडौंको वसन्तपुरदेखि ललितपुरको मंगलबजारसम्म वृहत ¥यालीसमेत भएको थियो ।








