जनकपुरधाम,जेठ, ११ ।
मधेश प्रदेशको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयको नाम परिवर्तन गरिएको छ ।मन्त्रालयका सचिव रामकुमार महतोले जनाए अनुसार मन्त्रिपरिषद्को निर्णय अनुसार नाम परिवर्तन गरी गृह तथा सञ्चार मन्त्रालय राखिएको छ । मन्त्रालयको नाम परिवर्तन भएको सूचना प्रदेशको राजपत्रमा मंगलवार प्रकाशित भएको छ । पहिले आन्तरिक मामिला तथा कानून मन्त्रालय रहेको थियो ।पछि सो मन्त्रालयलाई विभाजन गरी कानुन, न्याय तथा प्रदेशसभा मामिला मन्त्रालय छुट्टयाएर आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय नाम राखिएको थियो । जेठ ६ गतेको मन्त्रिपरिषद् बैठकले मन्त्रालयको नाम परिवर्तन गरी गृह तथा सञ्चार मन्त्रालय राख्ने निर्णय गरेको थियो । प्रहरी, प्रशासनसित सोझो सम्पर्क भएको मन्त्रालयको नाम आन्तरिक मामिला रहेकै कारण सर्वसाधारण झुक्किने गरेका थिए ।








