काठमाडौँ — पेट्रोलियम व्यवसायीले आन्दोलनका सम्पूर्ण कार्यक्रम स्थगन गर्ने सहमति पछि पनि आइतबार पेट्रोल पम्पहरुमा सर्वसाधारणहरुको भीडभाड उस्तै छ । पेट्रोल नपाउने चिन्ताले केही दिनदेखि काठमाडौंका पेट्रोल पम्पहरुमा सर्वसाधारणको भीड बढेको छ । चैत ६ देखि ग्यासको पीडीओ खरिददेखि इन्धन लोडअनलोड बन्द गरेका पेट्रोलियम व्यवसायीले आयल निगमसँग शनिबार राति चारबुँदे सहमति गर्दै आन्दोलन फिर्ता लिएका थिए ।बाह्य तथा आन्तरिक ढुवानी साधनको भाडामा डिजेलको मूल्य अनुपातमा घटबढ हुने गरी स्वचालित भाडा कायम गर्न माग गर्दै एलपी ग्यास उद्योग संघ, पेट्रोलियम डिलर्स एशोसिएशन र पेट्रोलियम ढुवानी व्यवसायीहरु आन्दोलनमा उत्रिएका थिए । यातायात क्षेत्रमा जसरी इन्धन ढुवानीमा समेत वैज्ञानिक भाडा लागू गर्नुपर्ने भन्दै एलपी ग्यास तथा पेट्रोलियम पदार्थको कारोबार गर्ने व्यवसायीले राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समिति बनाएर आन्दोलन गरिरहेका थिए ।रुसले युक्रेनमा गरेको आक्रमणका कारण कच्चा तेलको मूल्य अचाक्ली बढेपछि निगमले पेट्रोलियम व्यवसायीले पाइरहेको कमिसन बढाएको छैन । त्यसैको झोंकमा ६ बुँदे माग राख्दै व्यवसायीले अत्यावश्यक वस्तु इन्धनको लोड नै बन्द गरेका थिए । निगमले जायज माग सम्बोधन गर्ने आश्वासन दिए पनि सर्वसाधरणलाई दु:ख दिन व्यवसायीहरुले इन्धन ढुवानी नै बन्द गरेका थिए ।







