पपुवा न्युगिनी (पिएनजी) विरुद्ध करण केसीले अन्तिम ओभरमा ह्याट्रिक लिएपछि ३७ रनको जित निकाल्दै नेपाल घरेलु मैदानमा जारी त्रिदेशीय अन्तर्राष्ट्रिय ट्वान्टी–२० क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।कीर्तिपुर स्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा सम्पन्न खेलमा पिएनजीलाई ३७ रनले पराजित गर्दै नेपालले एक खेलअगावै फाइनलमा स्थान बनाएको हो । यसअघि टस हारेर ब्याटिङमा आएको नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाएर २ सय ३ रन जोडेको थियो । नेपालका दीपेन्द्रसिंह ऐरी ३३ बलमा तीन चौका र चार छक्कासहित ६६ रन बनाउँदा आदिल आलमले ११ बलमा एक चौका र तीन छक्कासहित ३१ रन बनाएका थिए । त्यसअघि नेपालका ओपनरद्वय कुशल भुर्तेल र आशिफ शेखले क्रमशः १७ र ३८ रन जोडेका थिए ।
यसबाहेक, नेपाली टोलीको खातामा रोहितकुमार पौडेलले ४१ रन थपे । यस्तै, करण केसीले एक रन बनाउदा दीलिप नाथ डकआउट भएका थिए । पिएनजीका कबुअ मोरेआले तीन विकेट लिए । एक दिवसीय शृखंलमा खराब नतिजा निकाले पनि ट्वान्टी–२० शृखंलामा सफलता पाएका सन्दीप लामिछानले सबै खेलाडीको मिहिनतेले जित सहज भएको बताए । उता अन्तिम ओभरमा ह्याट्रिक गर्दै सर्वाधिक ५ विकेट निकाले पछि करण केसीले सफलता आफ्नो लागि विशेष भएको प्रतिक्रिया दिए । करणले १९औं ओभरको दोस्रो, तेस्रो र चौथो बलमा क्रमशः पिएनजीका चाड सोपर, सिमोन अटाइ र नोसैना पोकनाको विकेट लिए । ३.४ ओभर बलिङ गरेका करणले २१ रन खर्चिए । नेपालले दिएको दुई सय ४ रनको लक्ष्य पछ्याएको पिएनजीले १९.४ ओभरमा सबै विकेट गुमाउँदै एक सय ६६ रनमात्र बनाउन सक्यो । जवाफी ब्याटिङ गर्ने क्रममा पिएनजीका चाल्र्स एमिनीले सर्वाधिक ६२ रन बनाए । चाल्र्सले ४७ बलमा नौ चौका प्रहार गरे । यसबाहेक, टोनी उराले ४३, सेसे बाउले २५ र नोर्मान भानुआले १७ रन बनाए । पिएनजीलाई सस्तोमै समेट्ने क्रममा नेपालका करण केसीले ह्याट्रिकसहित पाँच विकेट लिए । यस्तै, सोमपाल कामी र अविनाश बोहराले समान दुई विकेट लिदाँ कप्तान सन्दीप लामिछानेले एक विकेट हात पारे । श्रृखंलामा शुक्रबार पिएनजी र मलेशियाबीच दोस्रो खेल हुँदै छ ।








