१२ चैत, सर्लाही ।
सर्लाहीको इश्वरपुरमा बाटोको विषयमा दुई पक्षबीच झडप हुँदा जसपाका प्रमुख सचेतक साह घाइते भएका छन् ।इश्वरपुर नगरपालिका ६ बयलबास बजारमा आज बाटोको विषयमा दुई पक्षबीच भएको सामान्य विवाद चर्काेपछि झडप भएको प्रहरीले जनाएको छ । बाटो विस्तार गर्ने क्रममा विवाद हुँदा जनता समाजवादी पार्टीका प्रमुख सचेतक तथा सर्लाही क्षेत्र नम्बर १ का संघीय सांसद प्रमोद साह घाइते भएका हुन् ।
झडपमा घाइते भएका साहलाई स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । साहको टाउको र पिठ्युमा गम्भीर चोट लागेको छ । बाटो छेउमा रहेको फुलजोर युवा क्लबको भवन भत्काइएको थियो ।बाटोको सीमांकन भएपछि बाँकी रहेको जमिनमा क्लबको भवन बनाउनुपर्ने युवाहरुको माग भएपनि सांसद साहले सो स्थानमा नगरी अर्काे थाउँमा क्लबको भवन बनाउनुपर्ने भनेपछि विवाद भएको प्रहरीले जनाएको छ । आफ्ना समर्थक लिएर बजारमा प्रदर्शनमा उत्रिएका सांसद साह र युवाहरुबीच झडप भएको हो ।
युवाहरु आक्रमणमा उत्रेपछि साहको सुरक्षागार्ड असइ विनोदप्रसाद यादवलाई पनि कुटपिट गरिएको छ ।साथै, एउटा भारतीय स्करपियो र १ दर्जन मोटरसाइकल तोडफोड गर्दै यादवको साथमा रहेको पेस्तोल र ७ राउन्ड गोलीसमेत युवाहरुले खोसेर लगेको प्रहरीले जनाएको छ ।








