१० चैत, काठमाडौं ।

बीमा समितिले बीमा कम्पनीहरुको चुक्ता पूँजी बढाउने तयारी रहेको छ । बीमा कम्पनीहरुको नियमनकारी निकाय समितिले चुक्ता पूँजी दोब्बरले बढाउने तयारी गरेको हो । यसका लागि समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बिहीबार नै बोर्ड बैठक समेत बोलाएका छन् ।बोर्ड बैठकले पारित गरे तत्कालै लागू हुने गरी बीमा कम्पनीहरुको चुक्ता पूँजी वृद्धि हुनेछ । पूँजी वृद्धि र लघुबीमाको सञ्चालन अनुमति दिने विषयमा छलफल गर्न भन्दै अध्यक्ष सिलवालले बिहीबार साझका लागि बोर्ड बैठक बोलाएका हुन् ।

तीन बजे भन्दा अगाडि बोलाउदा सेयर बजारमा चलखेल हुन सक्ने भन्दै अध्यक्ष ज्यूले साझका लागि बैठक बोलाउनु भएको हो, सम्भवतः आजै निणर्य हुनेछ’ बोर्ड निकट श्रोतले भन्यो, ‘कम्तिमा दोब्बरले बढाउने भन्ने विषयमा अनौपचारिक कुरा भएको छ, तर दोब्बर भन्दा बढीले बढ्ने सम्भावना पनि छ ।’

हाल सञ्चालनमा आएका निर्जीवन बीमा कम्पनीका लागि न्यूनतम चुक्ता पूँजी १ अर्ब र जीवन बीमा कम्पनीहरुको लागि न्यूनतम चुक्ता पूँजी २ अर्ब रुपैयाँ तोकिएको छ । अब यसलाई बढाएर निर्जिवनको चुक्ता पुँजी अढाई अर्ब र जीवन बीमा कम्पनीको चुक्ता पुँजी ५ अर्ब बढाउने प्रस्ताव अध्यक्ष सिलवालले बोर्ड बैठकमा लैजानेछन् ।

यस अघिपनि बीमा कम्पनीहरुको पूँजी वृद्धिका विषयमा बहस हुने गरेको थियो । अध्यक्ष सिलवालले यो निणर्य गराउन सहज होस् भनेर सञ्चालक सन्तोष रिजालको अध्यक्षतामा कार्यदल समेत बनाएका थिए । रिजाल संयोजकत्वको कार्यदलले पुँजी बढाउनु पर्ने निष्कर्श निकालेको भन्दै अध्यक्ष सिलवाल अघि बढेका हुन् ।

बिहीबार नै लघुबीमा कम्पनीहरुलाई लाइसेन्स दिने वा नदिने भन्ने विषयमा समेत निणर्य हुने समिति निकट श्रोतले बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here