रौतहट, १८ असोज ।
महालेखा परिक्षकको कार्यालयले हालै जारी गरेको मलेपा प्रतिवेदनमा रौतहट स्थित रहेको इलेक्टोनिक प्लाजा तथा न्यू शिवशक्ति ईम्पोरियम लगायत दर्जनौं व्यापारीको आडमा रौतहटका स्थानियतहरुले अनियमितता गरेको ठहर गरेको छ ।
कोरोना महामारीका बेला रौतहटका स्थानीय तहहरुले करोडौको समान खरिद गरेपनि महालेखाले सो सामान फेला पार्न नसकेको भन्दै स्थानिय तहहरुको प्रतिवेदनमा प्रस्टरुपमै उल्लेख गरेका छन ।
स्थानीय तहहरुले व्यापारीहरुबाट करोडौको समान खरिद गरेपनि महालेखाको प्रतिवेदन अनुसार ती समानहरु कहि उल्लेख नभए पछि विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीकै आडमा स्थानीयहरुले अनियमितता गरेको प्रतिवेदनबाट प्रष्ट देखा परेको छ । रौतहटका स्थानीय तहहरुले कोरोना संक्रमितका लागि संचालन गरेका कोरेण्टाईन र आइसोलेसन वार्डहरुको लागि खरिद गरिएको सामाग्रीहरु बारेमा पनि स्थानीय तहहरु केही बोल्ल सकेका छैनन् । करोडौ रुपैयाँबाट खरिद गरिएका सामाग्रीहरु जिन्सी दाखिला तथा कुन प्रायोजनमा खर्च गरिएको छ, भने त्यस्तो कुनै किसिमको कागजातहरु समेत नभेटिएको महालेखाको प्रतिवेदनले देखाएको छ ।
कोभिड १९ को बेला रौतहटका स्थानीय तहहरुको नगर प्रमुख, लेखा प्रमुख, प्रमुख प्रशासकिय अधिकृत र स्टोर प्रमुखको संग्लनतामा गौरमा रहेका केही सप्लायर्सहरुबाट अधिकांश समानहरु खरिद गरेको मलेपाले देखाएको छ । त्यस्तै मलेपा प्रतिवेदनमा स्थानीय तहहरुले करोडौ रुपैयाँको सामग्री खरिद गरेपनि तीमध्ये अधिकांश सामग्री सप्लाई बिनानै बिल भुक्तानी गरेको समेत पाईएको छ ।
रौतहट जिल्लाका अधिकांश स्थानीय तहहरुमा न्यु शिव शक्ति ईम्पोरियम, चुकी ईन्टरप्राईजेज, केशरी सप्लायर्स, सागर जनरल सप्लायर्स, जय माँ मनोकामना सप्लायर्स, माँ मनोकामना टे«ड एण्ड सप्लायर्स, जय माँ लक्ष्मी टेडर्स एण्ड जेनरल सप्लायर्स, उमंग टेडर्स, पशुपति टेडर्स, ईलेक्ट्रोनिक प्लाजा, एलजी प्लाजा, सिक्युरिटी वल्र्ड, आकाश सिड्स लगायतका व्यापारीक प्रतिष्ठानहरुबाट स्थानीय तहहरुले करोडौको सामान खरिद गरेका थिए ।
समान खरिद गरेको भुक्तानी बिल पेश गरेपनि समान देखाउन नसकनु, कतिपय स्थानिय तहका पदाधिकारीहरु संगको मिलोमतोमा व्यापारीहरुले दोहोरो भुक्तानी समेत लिएको प्रतिवेदनले देखाएको छ । महालेखाको प्रतिवेदनका अनुसार रौतहटका अधिकांश स्थानीय तहमा सामग्री खरिद गरिएको बिल पसलको नाममा नै रहेको भएपनि सप्लाई गरेको समान स्थानीय तहमा देखिएको छैन् । महालेखा परिक्षकले यमुनामाई गाउँपालिका, परोहा नगरपालिका, ईशनाथ नगरपालिका, राजपुर नगरपालिका, वृन्दावन नगरपालिका, कटहरिया नगरपालिका, बौद्धिमाई नगरपालिका, दुर्गा भगवति गाउँपालिका, गरुडा नगरपालिका लगायतका स्थानिय तहहरु अग्र स्थानमा परेका छन् ।








