रौतहट- इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा बैंग्लोरले मुम्बईलाई फराकिलो अन्तरले हराएको छ । गएराति दुबईमा भएको खेलमा बैंग्लोर ५४ रनले विजयी भएको हो ।
बैंग्लोरले दिएको १६६ रनको लक्ष्य पछ्याएको मुम्बई इन्डियन्स १११ रनमा अलआउट भयो । मुम्बईका लागि कप्तान रोहित शर्माले सर्वाधिक ४३ र क्विन्टन डि ककले २४ रन बनाएपनि अन्य कुनै ब्याट्सम्यानले दोहोरो अंकको रन स्कोर गर्न सकेनन् ।
मुम्बईलाई सस्तैमा समेट्न हर्षल पटेलले ४ विकेट लिए भने युजवेन्द्र चाहालले ३, ग्लेन म्याम्सवेलले २ र मोहम्मद सिराजले १ विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको बैंग्लोरले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६५ रन बनाएको थियो ।
बैंगलोरका लागि ग्लेन म्याक्सवेलले ३७ बलमा ३ छक्का र ६ चौकासहित ५६ रन बनाए भने कप्तान विराट कोहलीले ४२ बलमा ३ छक्का र ३ चौकासहित ५१ रन बनाए । यस्तै श्रीकर भरतले ३२, एबी डि भिल्लर्सले ११ रनको योगदान दिए ।
मुम्बईका जसप्रित बुम्राहले ३ तथा ट्रेन्ट बोल्ट, एडम मिल्ने र राहुल चाहरले १–१ विकेट हात पारे ।यो जितसँगै बैंग्लोर १० खेलबाट १२ अंकसहित तेस्रो स्थानमा छ ।








