भाद्र १८, २०७८
पर्सा — भारतमा लोकप्रिय रहेको नेपाली ब्रान्डको जुत्ता गोल्डस्टारको वीरगन्ज नाकाबाट हुँदै आएको निकासी घटेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा गत वर्ष निकासी कम देखिएको हो ।वीरगन्ज भन्सार कार्यालयका अनुसार गत वर्ष यो नाका हुँदै ६९ करोड ३७ लाख ४४ हजार रुपैयाँबराबरको २१ लाख ३८ हजार ४ सय ७३ जोर स्पोर्ट सुज भारत निकासी भएको छ । जबकि अघिल्लो वर्ष ७३ करोड ५५ लाख ९९ हजार रुपैयाँबराबरका २३ लाख ६२ हजार ५ सय ४७ जोडी स्पोर्ट सुज पारि गएको थियो ।वीरगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत हरिहर पौडेल यो नाका हुँदै नेपालबाट किरण सुजले उत्पादन गर्ने गोल्डस्टार ब्रान्डको जुत्ता मात्र भारत निकासी हुने गरेको बताउँछन् । ‘भारतका झारखण्डलगायत राज्यमा नेपालको गोल्डस्टार जुत्ता अत्यन्त लोकप्रिय छ, भारत निकासी हुने शतप्रतिशत जुत्ता गोल्डस्टार नै हुन्छ,’ उनले भने, ‘निकासी घट्नुमा कोभिड महामारी प्रमुख कारण हुन सक्छ, त्यसबाहेक यो जुत्ताको निकासी अन्य नाकाबाट बढेर यतातिर घटेको हाम्रो अनुमान छ ।’ भारतका सिक्किम, दार्जिलिङलगायत राज्यमा मेची नाकाबाट यो ब्रान्डको जुत्ता निकासी भएको उनले अनुमान गरे ।कोभिड महामारीका कारण सर्वसाधारण घरबाट बाहिर निस्कनै कम भएकाले पनि जुत्ता–चप्पलको मागनै घटेको हुन सक्ने उनले बताए । नेपालमै पनि चीनबाट जुत्ताको आयात घट्नुले यस्तै संकेत गरेको उनको भनाइ छ ।किरण सुजसँग सम्बद्ध व्यक्तिहरूसँग आफूहरूले यस सम्बन्धमा जिज्ञासा राख्दा उनीहरूले भारतमा गोल्ड स्टार जुत्ताको माग नघटेको दाबी गर्ने गरेको पौडेल बताउँछन् ।







