साउन ११,काठमाडौं । ज्ञानको मन्दिर त्रिभुवन विश्वविद्यालयमा अहिले एक प्रकारको जात्रा चलिरहेको छ ।

१५ वर्षसम्म अध्यापनमा संलग्न रहेका आंशिक प्राध्यापकहरू श्रम शोषणले हद नाघेको भन्दै करारको माग गर्दै विश्वविद्यालयका पदाधिकारीहरूको कार्यकक्षमा ताला लगाएर आन्दोलित छन् । पदाधिकारीहरू शक्ति प्रयोग गर्दै ताला खोलिरहेका छन् भने बलपूर्वक खोलिएका तालामा अर्को ताला थप्दै आंशिक प्राध्यापकहरूले आन्दोलन चर्काइरहेका छन् ।

संयोग नै मान्नुपर्छ, त्रिभुवन विश्वविद्यालयका आंशिक प्राध्यापकहरूको आन्दोलन चलिरहेको बेला २०७४ सालमा एक हजार ४ सय २० आंशिक प्राध्यापकलाई करारको निर्णयकर्ता शेर बहादुर देउवा नै अहिले प्रधानमन्त्री तथा विश्विद्यालयको कुलपतिको कुर्सीमा हुनुहुन्छ ।

यो बेला त्रिविका आंशिक प्राध्यापकको आन्दोलन चलिरहेको छ । उपकुलपति, रजिष्ट्रार र सेवा आयोगका पदाधिकारीहरूको कार्यालयमा ताला छ । आंशिक प्राध्यापक केन्द्रीय संघर्ष समितिले २०७४ सालमा स्वीकृत १४ सय २० करार दरबन्दी कार्यान्वयन नहुन्जेलसम्म तालाबन्दी जारी रहने जनाएको छ ।

प्रधानमन्त्री तथा त्रिविका कुलपति देउवाले चार वर्ष अगाडि गरेको निर्णय कार्यान्वयन गर्न त्रिवि पदाधिकारी अनिच्छुक देखिँदा यो अवस्था आएको आंशिक प्राध्यापक संघर्ष समितिका प्रवक्ता एलबी विष्ट बताउनुहुन्छ । विश्वविद्यालयका पदाधिकारीहरूले आफ्नो पद जोगाउन प्राध्याकपहरूलाई प्रलोभन देखाएको उहाँको आरोप छ । पदाधिकारीले छलकपटबाहेक अन्य केही पनि नजानेको उहाँको भनाइ छ ।

तत्कालिन प्रधानमन्त्री देउवाको निर्णय कार्यान्वयन नगर्ने त्रिविका पदाधिकारी अहिले पनि आंशिक प्राध्यापकलाई झुलाएरै राख्ने दाउमा देखिन्छन् । धेरैवटा तहहरू पार गर्नुपर्ने भएकाले प्रक्रियामा समय लागेको त्रिभुवन विश्वविद्यालयका उपकुलपति धर्मकान्त बाँकस्कोटा बताउनुहुन्छ । त्रिवि सेवा आयोगबाट परीक्षा उत्तीर्ण नगरी अन्य प्रक्रियामा जान नसकिने उहाँको भनाइ छ ।

यस्तै टालटुले भनाइकै कारण साउन ९ गते सुरु भएको तालाबन्दी खोल्ने र वार्तासमेत हुन सकेको छैन । आंशिक प्राध्यापक र त्रिवि पदाधिकारीबीच को भन्दा को कम भन्ने जुँगाको लडाइँले विश्वविद्यालयका विद्यार्थी मारमा परेका छन् । त्रिविको गैरजिम्मेवार अभिव्यक्ति र मनोमानी क्रियाकलाप जारी रहे आफूहरूले अन्तिम आन्दोलन गर्ने प्रवक्ता विष्ट बताउनुहुन्छ । ‘गर वा मरको अवस्थाको आन्दोलन हुन्छ अब’, उहाँ भन्नुहुन्छ ।

भर्चुअल कक्षा बहिष्कार गरेर आन्दोलित आंशिक प्राध्यापकले अहिले कोरोना खोपको सुनिश्चितता नभएसम्म परीक्षा पनि वहिष्कार गर्ने बताइरहेका छन् । शैक्षिक थलोमा देखिएको यो गाईजात्रा टुंग्याउने अभिभारा त्रिवि पदाधिकारीकै हो । तर, उनीहरु गैरजिम्मेवार हुँदा त्रिविका आंशिक प्राध्यापकको पीडा सुन्ने नैतिक दायित्व फेरि पनि प्रधानमन्त्री तथा त्रिवि कुलपति देउवामै आइपुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here