१९ असार रौतहट// रौतहटमा केही दिनदेखि परिरहेको अविरल बर्षाले शुक्रबार ३ घर भत्किएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ । शुक्रबार प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवसहित रौतहट प्रहरी प्रमुख सिद्धिविक्रम साहसहितको टोलीले बाढी प्रभावित क्षेत्रको अनुगमन तथा निरिक्षण गर्ने क्रममा रौतहटका ३ घरमा क्षति पुग्दा ६ लाख बराबरबो क्षति भएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताउनु भयो ।
रौतहटको दुर्गाभगवती गाउपालिकाको वडा नम्बर ५ गढैयाका संजिव कुमार गिरीको घर भत्किदा १ लाख बराबरको क्षति भएको जनाइएको छ । त्यसैगरि राजपुर नगरपालिकाको वडा नम्बर ३ बलुवाका शेख अवु महम्मदको घर भत्किदा २ लाख र यमुनामाई गाउपालिकाको वडा नम्बर २ भेडीयाहीका आनन्दी ठाकुरको घर भत्किदा ३ लाख बराबरको क्षति भएको जिल्ला प्रशासन कार्यलय रौतहटले जनाएको छ ।
शुक्रबार दिउसो घर भत्किएकाले मानवीय क्षति भने नभएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताउनु भयो ।








