काठमाडौँ, ८ कात्तिक |

निर्वाचनमार्फत वर्तमान संसद् गठन भएको पनि करिब एक वर्ष पुग्न लागेको छ । संसद्को एकवर्षे अवधिमा भइरहेका अस्वभाविक परिघटनाका कारण संसद् र सांसदको भूमिका माथि नै प्रश्न उठाउने गरिएको छ । संसद्को प्रमुख जिम्मेवारी कानुन निर्माण नै हो । संविधानसभाबाट संविधान जारी भइसकेपछि संविधान कार्यान्वयनसँग अत्यावश्यक मानिएका कानुन अझै निर्माण हुन सकिरहेका छैनन् ।नेकपा (माओवादी केन्द्र)का सांसद गङ्गा कार्की संविधान र सङ्घीयता कार्यान्वयनसँग सम्बन्धित कानुन निर्माण र त्यसलाई इमान्दारितापूर्वक लागू गर्नेमा समस्या देखिएको बताउनुहुन्छ ।सदनलाई प्रभावकारी बनाउन सांसदले आफ्नो ठाउँबाट भूमिका निर्वाह गरिरहे पनि राजनीतिक दलहरूमा देश जता जान्छ जाओस् आफ्नो पार्टी र आफू सधैँ केन्द्रमा रहिरहुँ भन्ने सोचका कारण अप्ठ्यारो परेको सांसद कार्कीको बुझाइ छ । “संसद्भित्र छुट्टै प्रक्रिया हुन्छ, निश्चित प्रक्रियाबाट विधेयक दर्ता हुने र प्रक्रियाबाट नै पारित हुने हुन्छ।अहिलेको सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थालाई पुरानै संसदीय व्यवस्था भएको भाष्य स्थापित गर्न खोजिएकामा असन्तुष्टि व्यक्त गर्दै उहाँ यससम्बन्धमा सबैले बुझ्न जरुरी रहेको बताउनुहुन्छ । विसं २०२२ असार ४ गते दोलखामा जन्मनुभएका सांसद कार्की २०३५/०३६ सालदेखि वामपन्थी आन्दोलनमा होमिनुभएको थियो । उहाँले २०४७ सालमा नेकपा मसालको सदस्यता लिनुभएको थियो । विसं २०४८ मा मसालको दोलखा पार्टी सेक्रेटरी, २०५२ सालदेख जनयुद्धमा संलग्न, २०५७ सालमा माओवादीको केन्द्रीय सदस्य तथा दोलखा, रामेछाप, भक्तपुर र काभ्रेपलाञ्चोक जिल्ला इन्चार्ज भएर काम गरिसक्नुभएको छ । उहाँले जनयुद्धका समयमा ब्रिगेडियर कमिसारको भूमिका निर्वाह गर्नुभएको थियो ।संसद्मा कुनै पनि पार्टीको एकल बहुमत नहुँदा घोषणापत्रअनुसारको कानुन निर्माण र कार्यक्रम तर्जुमा गर्न नसकिएको उल्लेख गर्दै सांसद कार्की गठबन्धनको भावनाअनुसार चल्नुपर्दा सोचेजति काम गर्न नसकिएको बताउनुहुन्छ । “संसद्मा कसैको पनि बहुमत छैन । तेस्रो ठूलो दलको नेतृत्वमा सरकार बनेको छ । यसमा पनि कहीँ न कहीँ समस्या देखिएको छ । एकल बहुमत हुँदा हुने सहजता र गठबन्धनका कारण सबैको भावना समेट्नुपर्ने बाध्यता एकै हँुदैनन् ।मिटरब्याजीसम्बन्धी विधेयक, नागरिकता विधेयक, भूमिसम्बन्धी विधेयक, शिक्षा विधेयक, सम्पत्ति शुद्धीकरण, ऊर्जालगायत विधेयक वर्तमान संसद्मा आएको जनाउँदै सांसद् कार्कीे अहिलेको अवस्था, विभिन्न दलहरूको सरकारमा सहभागितालगायत कोणबाट हेर्दा सदनमा विधेयक प्रस्तुत भएको तथ्यलाई हल्कारुपमा लिन नहुने बताउनुहुन्छ । “सामान्यतः जति अपेक्षा गरिएको थियो, त्यति हुन नसके पनि सन्तोषजनक नै छ ।विभिन्न विषयलाई लिएर लगातारजसो सदन अवरुद्ध भइरहँदा पनि विधेयक निर्माणको प्रक्रिया ओझेलमा परेको सांसद कार्कीको भनाइ छ । “प्रत्यक्ष निर्वाचित कार्यकारी हुनुपर्छ भन्ने विगतको आवाज सम्बोधन नहुँदा पनि कहीँ न कहीँ समस्या भइरहेको छ, जनताको आशा अपेक्षा धेरै छ ।सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था नरुचाउने प्रवृत्ति भएका दलले सडक तथा सदनबाट अवरोध गरिरहेको उल्लेख गर्दै सांसद कार्कीले मुलुकलाई पछाडि फर्काउने सोच र प्रवृत्तिले अप्ठ्यारो पारेको बताउनुहुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here