२८ बैशाख एजेन्सी । भारतीय क्रिकेट टोलीले सीमित ओभर क्रिकेटका लागि श्रीलंकाको भ्रमण गर्ने तय गरेको छ। बीसीसीआईका अध्यक्ष सौरभ गांगुलीले श्रीलंका भ्रमण निश्चित रहेको बताएका छन्।
आउँदो जुलाईमा भारतीय टोलीले श्रीलंका यात्रा गर्न लागेको हो। तर भारतले आफ्नो कप्तान विराट कोहली, उप-कप्तान रोहित शर्मा, तेज बलरद्वय जस्पृत बुमराह र मोहम्मद शमी बिनानै श्रीलंका यात्रा गर्ने निर्णय गरेको छ।
३ एकदिवसीय र ३ टी-ट्वेन्टी सिरिज सम्मिलित भ्रमणमा एकदिवसीय खेल जुलाई १३, १६ र १९ मा खेलिने छन्। त्यस्तै टी-ट्वेन्टी खेलहरु जुलाई २२, २४ र २७ मा खेलिने कार्यक्रम रहेको छ।
अगस्ट ४ देखि सेप्टेम्बर १४ सम्म भारतले इङ्ल्यान्ड विरुद्ध ५ टेस्ट शृङ्खला खेल्न गइरहेको छ। त्यसका लागि भारतले श्रीलंका भ्रमणमा आफ्ना महत्वपूर्ण खेलाडी सम्मिलित गर्न नचाहेको कुरा गांगुलीले बताएका छन्।
भारतले त्यस अघि जुन १८-२२ मा न्यूजिल्याण्ड विरुद्ध ‘आईसीसी वर्ल्ड टेस्ट च्याम्पियनशिप’को फाइनल खेल पनि खेल्दै छ। उक्त म्याच इङ्ल्यान्डको लर्डसमा खेलिने छ।








