काठमाडौँ ३ माघ ।
नेपाल–भारत संयुक्त आयोगको शुक्रबार नयाँ दिल्लीमा भएको बैठकका क्रममा भारतले नेपाललाई कोभिड–१९ विरुद्धको भ्याक्सिन प्राथमिकताका साथ उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरिएको हो।
बिहीबार नयाँ दिल्ली पुगेका तीन–दिने भ्रमणका लागि परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र उनका भारतीय समकक्षी एस। जयशंकरको नेतृत्वमा भएको सो बैठकमा भारतले उक्त प्रतिबद्धता जनाएको हो ।
कोभिड–१९ भ्याक्सिन उपलब्ध गराउन नेपालले भारत सरकारसँग गरेको अनुरोधमा भारतीय पक्षले भ्याक्सिन तयार भएपछि नेपालको आवश्यकताअनुसार नेपाललाई प्राथमिकतामा राखिने प्रतिबद्धता व्यक्त गरेको छ ।
भारतको सहयोगमा जारी अन्तरदेशीय पूर्वाधार तथा सम्पर्क सञ्जाल निर्माणका प्रमुख परियोजनाको द्रुत कार्यान्वयनका निम्ति भएका प्रयास र प्रगतिप्रति दुवै देशका परराष्ट्रमन्त्रीले सन्तुष्टि जनाउँदै दोधारा–चाँदनीसहितका बाँकी सिमाना क्षेत्रका वरपर निर्माण गरिने एकीकृत जाँचचौकी, सुख्खा बन्दरगाह, रेलवे, सडक र प्रसारण योजनालाई शीघ्रताका साथ अघि बढाउन सहमति जनाएका छन् ।
व्यापार, पारवहन र रेलसेवासम्बन्धी दुवै देश द्विपक्षीय सन्धिको समीक्षा गर्दै व्यापार एवं पारवहन सन्धि यथाशक्य चाँडो टुङ्ग्याउन तथा रेलसेवा सम्झौतालाई संशोधन गर्न सहमत भएका छन् ।

चार सय किलोभोल्ट बुटबल–गोखरपुर अन्तरदेशीय प्रसारण लाइनको काम तीव्र गतिमा अघि बढाउन बैठक सहमत भएको छ ।सीमा क्षेत्रमा रहेका दुवै देशका नागरिकले भोग्नुपरेको डुबान समस्याका सम्बन्धमा पनि बैठकमा छलफल भएको थियो ।
महाकाली नदीमा बाँध बनाएर पाँच हजार मेगावाटभन्दा बढी बिजुली उत्पादन गर्ने र दुवै देशका लाखौँ हेक्टर कृषियोग्य जमीनमा सिँचाइ सुविधा पुर्‍याउने तीन दशक पुरानो उक्त परियोजनालाई कागतमा मात्र सीमित नराखेर कार्यान्वयनमा नै जानुपर्ने अडान बैठकको महत्वपूर्ण कार्यसूची हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here