रौतहट । नेवा देय दबू रौतहटले विभिन्न क्षेत्रमा योगदान पुर्याएका व्यक्तित्वलाई सम्मान गरेको छ ।
नेवा देय दबू रौतहटको शनिबार तेस्रो जिल्ला अधिवेशनको अवसरमा सम्मान गरेको हो ।
शिक्षा क्षेत्रतर्फ फतुवा बिजयपुर–११ का अर्जुन श्रेष्ठ र चन्द्रपुरका राजन श्रेष्ठलाई सम्मान गरेको छ । संचारतर्फ चन्द्रपुर–४ का सञ्जय कार्की र गौरका गौतम श्रेष्ठ, साहित्यतर्फ चन्द्रपुर–५ का लक्ष्मी देबी श्रेष्ठ, राजनीतिक तथा सामाजिक क्षेत्रतर्फ पदम बहादुर श्रेष्ठलाई सम्मान गरिएको नेवा देय दबू रौतहटका अध्यक्ष बालकृष्ण श्रेष्ठले बताए ।
अधिवेशनको उद्घाटन गर्दै प्रतिनिधिसभा सदस्य देब प्रसाद तिमल्सिनाले नेवार समुदायको मौलिकता र संस्कारको सबैले कदर गर्नुपर्ने बताए ।
उनले नेवार समुदायको रीतिरीवाज, भेषभुषा, रहन सहन, खानपान उदाहरणीय रहेको उल्लेख गरे । सो अधिवेशनमा नेवा देय दबू मधेश प्रदेशका अध्यक्ष तिलक श्रेष्ठले परम्परा र संस्कृतिको रक्षा गर्न नेवार समुदाय एकजुट हुन आवश्यक रहेको बताए ।








