काठमाडौ २० मंसिर ।
महानगरीय ट्राफिक महाशाखाका प्रमुख एवं वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) जनक भट्टराईले ट्राफिक व्यवस्थापनलाई डिजिटलाइजेसन बनाउने कार्य अन्तिम चरणमा पुगेको बताउनु भएको छ ।
प्रहरी हेडक्वार्टरबाट भर्खरै सरुवा भएर महाशाखामा आउनुभएका एसएसपी भट्टराईले पत्रकारहरुसँग कुराकानी गर्दै ट्राफिक व्यवस्थापनलाई सहज बनाउन डिजिटल प्रविधिको प्रयोग गर्ने तयारी अन्तिम चरणमा पुगेको बताए । कुनैपनि सवारीचालक ट्राफिक कारबाहीमा परी जरिबाना तिर्नुपर्ने भएमा अनलाइनबाटै भुक्तानी गर्न मिल्ने प्रणालीको विकास भइरहेको पनि उहाँले जनाए । यसबाट बैंकमा लामो लाइन लाग्नुपर्ने स्थितिको अन्त्य हुने पनि एसएसपी भट्टराईले भनाई रहेको छ ।
ट्राफिक कारबाहीमा परेका व्यक्तिहरुलाई दिइने सचेतना कक्षा कोभिडका कारण स्थगित भएकोमा अहिले अनलाइन बाटै लिने व्यवस्था मिलाइएको पनि बताउनु भयो । अहिले ट्राफिक कारबाहीमा परेमा लिनुपर्ने सचेतना कक्षा अनलाइनबाट लिएपछि मात्रै महाशाखाको कार्यालयबाट कागजपत्र लिन सकिने उनले जानकारी गराएका छन् ।








