रौतहट, १५ कात्तिक । रौतहट जिल्लाको दूर्गा भगवती गाउँपालिकाका अध्यक्षमा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार साँझ आएका पीसीआर परीक्षणको रिपोर्टमा अध्यक्ष अरुण कुमार साहसहित उनको चालक, सोही गाउँपालिकाको कार्यालयमा कार्यरत सहायक कम्प्युटर अपरेटर तथा कार्यालय सहयोगीमा संक्रमण पुष्टि भएको हो ।

अध्यक्ष साहले आफूलाई केही दिन अगाडि ज्वरो आएकाले शंका लागेर परीक्षण गराउँदा संक्रमण देखिएको जानकारी दिए । उनले हाल आफ्नो स्वास्थ्य स्थिति सामान्य रहेको र घरमै बसेर स्वास्थ्य लाभ गरिरहेको जानकारी गराएका छन् ।

साथै, आफ्नो सम्पर्कमा आएकाहरुलाई सचेत भएर बस्न र लक्षण देखिए तुरुन्त परीक्षण गर्न आग्रहसमेत गर्नुभएको छ । उनले आफू संक्रमित भएपनि कोरोनालाई उच्च मनोबलका साथ चाँडै पराजित गरि जनताको काममा थप हौसलाका साथ फर्कने विश्वास व्यक्त गरे ।

साह संक्रमण पुष्टि हुने जिल्लाकै पहिलो स्थानीय तह प्रमुख हुन् । जिल्लामा हालसम्म २ हजार ३९ जनामा संक्रमण पुष्टि भएको छ ।

यसैबीच १ हजार ८५३ जना संक्रमितहरु कोरोनामुक्त भइसकेका छन् । कोरोना संक्रमणका कारण जिल्लामा हालसम्म १३ जनाले ज्यान गुमाएका छन् । सक्रिय संक्रमित मध्ये अधिकांश होम आइसोलेसनमा बसिरहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here