धनुषाको मिथिला नगरपालिका–२, बेलाचापीस्थित सतलोक आश्रममा नौ नव जोडीले दाईजोमुक्त विवाह गरेका छन् । सन्त गरीबदासजी महाराजको २९९ औं बोध दिवसको अवसरमा उक्त विवाह गरिएको हो ।
सन्त रामपालजी महाराजका अनुयायीहरुद्वारा यही फाल्गुन २५, २६ एवं २७ गते सम्मका आयोजित अखण्ड पाठ, विशाल भण्डारा, दाइजो तथा आडम्बरमुक्त विवाह समारोहमा नौं जोडीले दाइजोरहित विवाह गरेको रामपालजीका अनुयायी ओमराज ढकालले जानकारी दिए ।
उक्त अवसरमा रक्तदान शिविर, निःशुल्क मन्त्रदीक्षा लगायतका कार्यक्रमको सञ्चालन भएको थियो । ‘सन्त गरीबदासजी महाराजलाई सन् १७२७ मा १० वर्षको उमेरमा बिहान करीब १० बजे परम अक्षर ब्रह्म कबीर साहेबले एउटा जिन्दा महात्माको भेषमा भेट्नु भई ज्ञान उपदेश दिनुभएको थियो ।
सोही दिन सन्त गरीबदासजी महाराजको बोध दिवस कहलियो र त्यसै दिनको स्मृतिमा सतलोक आश्रम धनुषालगायत भारतका सम्पूर्ण ११ सतलोक आश्रमहरुमा तीन दिवसीय विशाल महाभण्डाराको आयोजना गरिएको हो, ढकालले भने ।
सन्त रामपालजी महाराजको सान्निध्यमा गरिने नव जोडीहरुको दाइजो तथा आडम्बरमुक्त विवाह सबैको चासोको विषय रहेको पनि उनले जानकारी दिए ।
यस्तो विवाहमा कुनैपनि सरसामान तथा नगद लेनदेन नहुने तथा बेहुला वा बेहुली दुवै पक्षको कुनैपनि खर्च नहुने आयोजक पूर्णब्रम्हा कबीर उपासक समाजले जानकारी दिएको छ । आगन्तुकहरुलाई खाने तथा बस्ने व्यवस्था आश्रमकै तर्फबाट गरिएको थियो ।
१७ मिनेटको गुरुवाणीद्वारा तेत्तीस करोड देवीदेवताहरुको स्तुति गरी देवीदेवताहरुलाई साक्षी राखी उक्त विवाह सम्पन्न गरिएको समाजका अध्यक्ष कुमार दासले जानकारी दिए ।
‘यस प्रकारको विवाहमा कुनै किसिमको मांसाहार तथा नशालु पदार्थ आदि सेवन गर्न पूर्ण रुपमा निषेधित हुन्छ । समाजबाट दाइजोरूपी कुप्रथालाई समाप्त पार्न सन्त रामपालजी महाराजको दाइजोमुक्त समाज अभियान अन्तर्गत यस्तो विवाह हुने गरेको छ,’ उनले भने ।
सो अवसरमा नेपाल रेडक्रस सोसाइटीलाई ६६ यूनिट रक्तदान पनि गरिएको छ । विशाल भण्डारामा शुद्ध घ्युबाट तयार गरिएको लड्डुका साथै रोटी, पूरी, दाल, भात, तरकारी, सलाद, अचार आदिको व्यवस्था गरिएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here