काठमाडौं, २९ असोज ।
नेपालमा कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या एक लाख २१ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १६ हजार ५ सय ९८ पिसिआर परीक्षण गरिएकोमा थप ३ हजार ७ सय ४९ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नयाँ संक्रमित थपिएसँगै नेपालमा कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या १ लाख २१ हजार ७ सय ९२ पुगेको बताए । यस्तै पछिल्लो २४ घन्टामा थप ३ हजार ५ सय ६४ जना कोरोना संक्रमणपछि निको भएका छन् । प्रवक्ता डा गौतमका अनुसार नेपालमा हालसम्म कोरोना संक्रमणपछि निको हुनेको संख्या ८४ हजार ५ सय १८ पुगेको छ । यो दर कुल संक्रमितको ६९ दशमलव ४ प्रतिशत हो । यस्तै हाल नेपालभर ३६ हजार ५ सय ३३ सक्रिय संक्रमित रहेका छन् । संक्रमित मध्ये १२ हजार २ सय ३९ जना संस्थागत आइसोलेसनमा रहेका छन् भने २४ हजार १ सय ९४ जना होम आइसोलेसनमा रहेका छन् । हाल नेपालका विभिन्न स्थानमा रहेका क्वारेन्टाइनमा जम्मा ४ हजार ८ सय २५ जना रहिरहेका छन् । यसैगरि पछिल्लो २४ घन्टामा थप १९ जनाको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४ सय ९६ पुगेको छ ।